स्थानीय जडीबुटी सम्बन्धी सचेतना कार्यक्रम 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १६:००
स्थानीय जडीबुटी सम्बन्धी सचेतना कार्यक्रम 

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय जडीबुटीको पहिचान, उपयोग र संरक्षण सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । परम्परागत औषधीय गुण भएका वनस्पतिको महत्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले महानगरले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा हाम्रो वरपर पाइने महत्त्वपूर्ण जडीबुटीहरू नीम, तुलसी, अमला, अदुवा, बेसार, ज्वानो, गुर्जो, कुरिलो, पारिजात, घ्यूकुमारी र धतुरो लगायतका वनस्पतिहरूको औषधीय गुण र तिनको प्रयोग गर्ने विधिका बारेमा जानकारी दिइएको थियो ।

Advertisement

कार्यक्रमका मुख्य प्रशिक्षक एवं कविराज निरीक्षक पुनम कर्णले ती जडीबुटीहरूको नियमित उपयोगबाट हुने फाइदा र तिनलाई घरमै कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक जानकारी दिएकी थिइन् । उनले घरेलु जडीबुटीको सही प्रयोगले सामान्य रोगहरूको उपचारमा ठुलो मद्दत पुग्ने र रासायनिक औषधिमाथिको निर्भरता कम हुने बताइन् ।

सचेतना कार्यक्रममा महानगरका १९ वटै वडाका कृषक, समाजसेवी, आमा समूहका प्रतिनिधि लगायत गरी करिब ९० जनाको सहभागिता रहेको थियो । सहभागीहरूले गाउँघरमा सहजै उपलब्ध हुने तर महत्त्व नबुझेर नष्ट भइरहेका जडीबुटीको बारेमा नयाँ कुरा सिक्न पाएको भन्दै खुसी व्यक्त गरे ।

सहभागीहरूका अनुसार, यस किसिमका कार्यक्रमले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जडीबुटीको संरक्षण गर्न र पुस्तौँदेखि चल्दै आएको परम्परागत ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने छ । सहभागीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमलाई टोल टोलमा पुर्‍याउन र आगामी दिनमा पनि निरन्तरता दिन महानगरपालिकासँग आग्रह गरे ।

महानगरपालिकाले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको प्रवर्द्धन गर्दै नागरिकको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.