सचिव राईलाई हटाउने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १८:३४

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने तयारी गरेका छन् ।

कार्यसम्पादनमा कमजोरी देखिएको भन्दै राईलाई स्पष्टीकरण सोधिएको छ । सभामुखको कार्यालयका अनुसार संसदीय विषयगत समितिहरूलाई सक्रिय बनाउन पर्याप्त पहल नगरेको र संसद बैठकमा सांसदहरूलाई बोल्ने क्रममा निष्पक्षता नदेखाई प्रस्ताव अघि सारेको विषयलाई लिएर राईसँग स्पष्टीकरण मागिएको हो ।

Advertisement

चैत २७ गते गठन भएका समितिहरूले सभापति पाए पनि अपेक्षित रूपमा सक्रिय नबनेको विषयलाई सभामुखले गम्भीर रूपमा लिएका छन् । त्यस्तै, संसद बैठक सञ्चालनका क्रममा पक्षपातपूर्ण व्यवहार भएको आरोप पनि सचिव राईमाथि लागेको छ ।

सचिव राई अघिल्ला सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते नियुक्त भएका थिए । संविधानअनुसार प्रतिनिधिसभा सचिवलाई सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्त र हटाउने व्यवस्था छ ।

पारिश्रमिक तथा सेवासम्बन्धी ऐन, २०७५ ले पनि कार्यक्षमता अभाव, खराब आचरण वा कर्तव्य पालना नगरेको आधारमा हटाउन सकिने व्यवस्था गरेको छ । यद्यपि, कानुनअनुसार हटाउने प्रक्रिया अघि बढाउनुअघि सम्बन्धित व्यक्तिलाई सफाइ पेस गर्ने अवसर दिनुपर्ने प्रावधान छ ।

सोही अनुसार सोधिएको स्पष्टीकरण राईले बुझाइसकेका छन् । अब प्राप्त जवाफका आधारमा थप कदम चालिने संकेत सभामुखको कार्यालयले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.