
विराटनगर । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा खुम्बु आइसफल क्षेत्रमा सेराक (बरफको ठूलो संरचना) भत्किँदा दुई जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ५ः४५ बजे क्याम्प–२ तर्फ जाँदै गरेको आरोही समूह नजिकै अचानक ठूलो हिम संरचना खस्दा घटना भएको पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार करिब २० मिटर माथिबाट खसेको सेराकले बाटोमा रहेका आरोही र गाइडलाई असर पुर्याएको थियो ।
घटनामा संखुवासभाका ४४ वर्षीय पर्वतीय गाइड पेम्बा तेन्डुक शेर्पा र सेभेन समिट ट्रेक्ससँग आबद्ध ४० वर्षीय भारतीय पर्वतारोही निमिशकुमार सिंह घाइते भएका छन् । घटनापछि पायोनियर एडभेन्चर र समिट फोर्स एक्सपिडिसनका उद्धार टोलीहरू तत्काल घटनास्थल पुगेका थिए ।
उनीहरूले प्रारम्भिक उद्धार गरी आधार शिविरमा जानकारी गराएका थिए । त्यसपछि हेलिकप्टरमार्फत उद्धारको समन्वय गरिएको थियो । लुक्लाबाट उडेको हेलिकप्टर बिहान करिब ६ः३० बजे घटनास्थल पुगेको बताइएको छ ।
उद्धारपछि दुवै घाइतेलाई काठमाडौं लगेर उपचार सुरु गरिएको छ । विभागका अनुसार उनीहरूको अवस्था हाल खतरामुक्त छ । सगरमाथा आरोहणको मुख्य जोखिमयुक्त खुम्बु आइसफल क्षेत्रमा भएको यस घटनाले आरोहण सुरक्षा व्यवस्थाका बारेमा प्रश्न उठाएको छ ।



















