
एजेन्सी । अमेरिकी सेनाले ओमानको तटनजिक इरानी कार्गो डुंगाहरुलाई लक्षित गरी गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको छ ।
इरानको समाचार एजेन्सीले उक्त घटनालाई नागरिक यात्रुहरूमाथिको आक्रमण भन्दै कडा निन्दा गरेको छ । अमेरिकी कमाण्डले भने स्ट्रेट अफ होर्मुज क्षेत्रमा छ वटा डुंगाहरुलाई लक्षित गरिएको दाबी गरेको छ । हेलिकोप्टरबाट भएको कारबाहीपछि केही डुंगा डुबेको र क्षति भएको जनाइएको छ ।
यस घटनाले खाडी क्षेत्रमा तनाव थप बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ओमान नजिकको समुद्री मार्गमा भएको यस घटनाले व्यापारिक आवागमन र सुरक्षा स्थितिमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ । इरानले घटनापछि कूटनीतिक माध्यमबाट विरोध जनाउने तयारी गरेको बताइएको छ ।
अमेरिकी पक्षले भने आफ्नो कारबाही आतंकवाद र अवैध तस्करी नियन्त्रणका लागि गरिएको बताएको छ । यस विषयमा दुवै पक्षका दाबीहरू परस्पर विरोधाभासी देखिएका छन् ।
विश्लेषकहरूले यो घटनाले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिएका छन् । समुद्री सुरक्षामा अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको पनि बताइएको छ ।

























