
विराटनगर । विराटनगरको एभरेस्ट स्कुलले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीहरूको प्रमुख तथा उपप्रमुखको चयन गरेको छ ।
शैक्षिक सत्र २०८३ का लागि विद्यार्थीहरूको प्रमुख (प्रिफेक्ट) तथा उपप्रमुख (डेपुटी प्रिफेक्ट) चयन मतदानमार्फत गरिएको छ ।
विद्यालयले लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले मतदानमार्फत विद्यार्थीहरूको प्रमुख तथा उपप्रमुख चयन गरेको हो । निर्वाचनमा पूर्ण रूपमा व्यवस्थित मतदान केन्द्र र गोप्य मतदानको व्यवस्थाबीच विद्यार्थीहरूले छुट्टाछुट्टै मतपेटिका मार्फत मतदान गरेका थिए ।
आधारभूत तह प्रमुखमा कक्षा ८ की आरुबी भट्टराई र उपप्रमुखमा कक्षा ७ बाट सिवांसु कर्ण निर्वाचित भए । यस्तै, माध्यमिक तहमा मान्यता बस्नेत प्रमुखमा निर्वाचित हुँदा अरिनजंग थापा उपप्रमुखमा निर्वाचित भए । प्रमुख र उपप्रमुखले विद्यार्थी र विद्यालयबीचमा बसेर समन्वय गर्ने तथा विद्यार्थीको हकहितमा भूमिका खेल्ने छन् ।
विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भइसकेपछि मतदानमार्फत विद्यार्थीहरूको प्रमुख र उपप्रमुख चयन गर्ने गरिएको छ । ‘आधारभूत र माध्यमिक तहमा छुट्टाछुट्टै प्रमुख र उपप्रमुख चयनका लागि निर्वाचन गर्ने गरिएको छ’, भण्डारीले भने, ‘यो प्रक्रिया हामीले लामो समयदेखि प्रयोग गरिरहेका छौँ । यसले विद्यार्थीको नेतृत्व क्षमता बढाउनका साथै निर्वाचन प्रक्रियाको बारेमा प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त हुन्छ ।’
यो निर्वाचन विद्यार्थीहरूको नेतृत्व चयनका लागि मात्र सीमित नभई विद्यार्थीहरूलाई देशको निर्वाचन प्रणाली, मतदानको महत्त्व र नेतृत्वको जिम्मेवारीबारे व्यावहारिक ज्ञान प्रदान गर्न महत्त्वपूर्ण हुने विद्यालयले जनाएको छ ।



















