
विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मोरङ जिल्लाबाट ७९ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा अर्थात् ‘४ जीपीए’ प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार ७९ जनाले पूर्ण जीपीए ल्याएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई, मोरङका प्रमुख उपसचिव शालिग्राम दाहालका अनुसार यो नतिजा गत वर्षको भन्दा सुधार भएको हो । गत वर्ष मोरङबाट १८ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।
मोरङबाट यस पटक कुल १८ हजार ७५ जना परीक्षार्थी एसईईमा सहभागी भएका थिए । जसमा नियमिततर्फ १७ हजार २०६ र ग्रेडवृद्धितर्फ ९२९ जना विद्यार्थी थिए ।
जिल्लाको नतिजामा सुधार भए पनि ४ हजार ६ सय ५० जना विद्यार्थीको नतिजा भने ‘एनजी’ (नन् ग्रेडेड) आएको छ । उनीहरूले पुनः परीक्षा (पुरक) मार्फत ग्रेड सुधार गर्न पाउनेछन् ।
उत्कृष्ट सामुदायिक विद्यालय पहिचान बनाएको विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले यस वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् ।
सामुदायिकतर्फ विराटनगर–७ स्थित सत्यनारायण माविका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । आदर्श माध्यमिक विद्यालयबाट दुईजना विद्यार्थीले ४ जीपीए ल्याए ।
संस्थागत विद्यालयतर्फ विराटनगर–११ स्थित वालकल्याण विद्या मन्दिर बीकेभीएमका १८ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्ष चारजना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।
सुन्दरहरैँचास्थित सिद्धार्थ बोर्डिङ स्कुलका ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलबाट चार जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
विराटनगर–२ स्थित बूढानीलकण्ठ सेकेण्डरी इङ्लिस स्कूलका तीनजना विद्यार्थीले पनि ४ जीपीए ल्याएका छन् । विराटनगरकै सेन्ट जोसेफ सेकेण्डरी स्कुलका २ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् ।
विराटनगरको मोर्डन एरा स्कुलबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विराटनगरको लिलीपुट प्रिमियर स्कुलबाट एक जनाले ४ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेका छन् ।

























