
विराटनगर । अभिभावकहरूलाई सद्भावना दूत बनाउँदै आएको कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले सोमबार अभिभावकहरूसँग अन्तरक्रिया गर्दै इन्जिनियरिङ संकायको स्नातक तहको प्रथम समेष्टर पूरा गरेका ११ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो ।
सिभिल र इलेक्ट्रिक इन्जिनियरिङमा अध्ययनरत प्रथम समेष्टरका ११ जना छात्रछात्राहरूलाई डिन डा. रेखा श्रेष्ठले जनही ७५ र २५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिन् । उनले अभिभावकको गुनासो तथा सुझावलाई सुनेर तत्काल समाधान खोज्न सँगसँगै राखेर अन्तरक्रिया गर्दै छात्रवृत्ति प्रदान गर्ने गरेको र हरेक वर्ष निरन्तरता दिइरहेको बताइन् । सिभिल इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर ओमनारायण चौधरीले राम्रो अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई विश्वविद्यालयले प्रदान गर्ने गरेको छात्रवृत्तिलाई निरन्तरता दिँदै जाने गरेको बताए ।
अभिभावकहरू दिवाकर पौडेल र शर्मिला भट्टराईले आफ्नै प्रदेशको विश्वविद्यालयमा छोराछोरीलाई कम खर्चमा गुणस्तरीय पठनपाठन गराउन पाएकोमा धन्यवाद दिँदै नियमित बोलाएर पढाइको अवस्था जानकारी गराउँदै सुझाव लिने कार्य सह्रानीय भएको बताए ।
कोशी प्रदेश सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयले अभिभावकहरूलाई सद्भावना दूत घोषणा गरी विश्वविद्यालयको पठनपाठनको गुणस्तर र अनुभवबारे प्रचार–प्रसार गराउँदै आएको छ । साथै अध्ययनरत विद्यार्थीहरूलाई हरेक वर्ष २७ लाख बराबरको निडवेश, मेरिट, पार्सियल, फुल स्कलरसिप, इन्ट्रान्स र सेमेष्टर टपर र रिसर्च छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
इन्जिनियरिङ संकायको डिन कार्यालयका प्रशासन प्रमुख महेश राईका अनुसार विश्वविद्यालयमा भर्ना हुने, परीक्षा पास गर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको कार्यक्रममा कम्तीमा एक जना अभिभावकको अनिवार्य उपस्थिति रहने व्यवस्था गरिएको छ । सो अवसरमा विश्वविद्यालयले आफ्नो संकायमा अध्ययनरत विद्यार्थीको पढाइको गुणस्तर, समस्याहरू र विश्वविद्यालयको सेवा व्यवहारका बारेमा अभिभावकहरूसँगै राखेर समीक्षात्मक अन्तरक्रिया गर्दै आएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङ संकायका विद्यार्थीहरूलाई हरेक वर्ष २७ लाख बराबरको विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आएको छ । मनमोहनमा हरेक सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई नियमित छात्रवृत्ति दिइन्छ । अनुसन्धानमा सहभागी हुने विद्यार्थीहरूलाई पनि छात्रवृत्तिबाट प्रोत्साहन गर्ने गरिएको छ ।



















