सुनसरी इनरुवाका विप्लव घोष कोशी खेलकुद बोर्डको सदस्यसचिव नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार ०६:३३

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा सुनसरीको इनरुवाका विप्लव घोषलाई नियुक्त गरेको छ ।

सरकारले बुधबार राति सदस्यसचिवसहित पदाधिकारी तथा सदस्य गरेर ११ जनालाई नियुक्त गरेको हो । सदस्यसचिव नियुक्त भएका घोष इनरुवा नगरपालिका–३ का बासिन्दा हुन् । उनी कराँतेका पूर्वराष्ट्रिय खेलाडी हुन् । क्रिकेटमा पनि लामो समयदेखि आबद्ध छन् ।

Advertisement

घोषले विदेशी टिमसमेत झिकाएर प्रत्येक वर्ष सुनसरीमा एमएम कप एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् । उनी साढे ३ दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय छन् । घोषलाई सामाजिक विकासमन्त्री रामप्रसाद महतोले प्रदेश खेलकुद ऐन, २०७६ तथा प्रदेश खेलकुद (पहिलो संशोधन अध्यादेश–२०८३ समेत)को दफा ११ को उपदफा (१) बमोजिम सदस्यसचिव नियुक्त गरेका हुन् ।

प्रदेश खेलकुद बोर्डमा सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको राजनीतिक भागबन्डाका आधारमा सदस्यसचिवसहित सदस्यहरु नियुक्त गरिएको छ । नवनियुक्त सदस्यसचिव घोष एमाले निकट मानिन्छन् । मन्त्रालयले जारी गरेको नियुक्तिपत्रअनुसार उनको कार्यकाल २०८३ जेठ १३ गतेदेखि लागू हुने गरी ४ वर्षको रहनेछ ।

सरकारले केही समयअघि मात्रै प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश–२०८३ जारी गर्दै बोर्डको संरचना विस्तार गरेको थियो । सोही अध्यादेशमार्फत उपाध्यक्षको संख्या बढाइनुका साथै सदस्यहरूको संख्या समेत उल्लेख्य रूपमा विस्तार गरिएको हो । यसअघि बोर्डमा एक जना मात्र उपाध्यक्ष रहने व्यवस्था रहेकामा अब महिला र पुरुष गरी दुई उपाध्यक्ष राखिएको छ ।

नयाँ व्यवस्थाअनुसार महिला उपाध्यक्षमा एमालेबाट विराटनगरकी सन्तोषी श्रेष्ठ नियुक्त भएकी छन् । पुरुष उपाध्यक्षमा नेपाली कांग्रेसका वसन्त अर्याल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा एमालेका तर्फबाट विराटनगरकी बिना बस्नेत, केशव भट्टराई र किशोर विक्रम साह नियुक्त भएका छन् । नेपाली कांग्रेसको कोटाबाट टीकाराम पुरी, रोशनी राई, दुर्गा कठायत, विश्वराज राई र बालजित राईलाई बोर्डको सदस्य बनाइएको छ ।

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार सत्ता गठबन्धनभित्रको राजनीतिक सन्तुलन मिलाएर नियुक्ति गरिएको हो । एमालेबाट सदस्यसचिवसहित पाँच जना र कांग्रेसबाट छ जना समेटिने गरी सूची तयार गरिएको बताइएको छ । मन्त्रालयले अर्को चरणमा थप सदस्यहरू नियुक्त गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।

यसअघि सानो संरचनामा सीमित रहेको प्रदेश खेलकुद विकास बोर्डमा अहिले पदाधिकारी र सदस्यहरूको संख्या उल्लेख्य रूपमा बढाइएको छ । राजनीतिक भागबन्डा मिलाउनकै लागि संरचना विस्तार गरिएको टिप्पणी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.