
विराटनगर । झापा र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जना मजदुरको उपचारका क्रममा ३ दिनपछि ज्यान गएको प्रहरीले जनाएको छ ।
झापाको गौरादह नगरपालिका–७ स्थित भित्री पक्की सडक खण्डमा सजग एकता बोर्डिङ स्कुलको बसले किच्दा चार वर्षीय बालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ५ बजे लाठीचौरबाट फगेटीतर्फ जाँदै गरेको को १ ख ६९४० नम्बरको स्कुल बसले सोही विद्यालयको यूकेजीमा अध्ययनरत गौरादह–७ का खड्ग चिमरियाका छोरा आरोग्य चिमरियालाई किचेको थियो ।
विद्यार्थी घर पुर्याउन गएको बसले घरनजिक पुगेपछि झर्ने क्रममा किचेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बसबाट ओरालेर गाडी अगाडि बढाउने क्रममा बालकलाई बसले किचेको थियो । दुर्घटनामा परेर बालकको घटनास्थलमै मृत्यु भएको हो ।
बस चालक गौरादह–७ का ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ । बस पनि प्रहरीको नियन्त्रणमा छ ।
त्यस्तै, पाँचथरको फिदिम नगरपालिका–८ मान्द्रे भिरस्थित पौवासार्ताप–तामाखे भित्री कच्ची सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब ८ः५ बजेतिर मङसिरेबाट घुमाउनेटारतर्फ जाँदै गरेको नम्बर नखुलेको रोयल इन्फिल्ड बुलेट मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक फिदिम नगरपालिका–८ का ३३ वर्षीय दिपेन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले शव भिरबाट निकालेर जिल्ला अस्पताल पाँचथरतर्फ लगेको थियो ।
दुर्घटनाग्रस्त मोटरसाइकल भने अप्ठ्यारो भिरमा रहेका कारण तत्काल निकाल्न नसकिएको प्रहरीले जनाएको छ । मृतकका बुवा युवराज गुरुङले घटनास्थलमा पुगेर शवको पहिचान गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलमा चालक मात्रै सवार रहेको खुलेको छ । चिप्लो सडकका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
उता झापाको बाह्रदशी गाउँपालिका–३ मा ट्र्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । गत जेठ १० गते दिउँसो करिब १२ बजे मे १ त ६२६८ नम्बरको ट्र्याक्टरमा बालुवा अनलोड गर्ने क्रममा सोही ट्र्याक्टरमा काम गर्ने स्थानीय ३३ वर्षीय शिवलाल हेमरम लडेर गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई स्थानीय राजगढ मेडिकलमा उपचार गराइएको थियो । प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिए पनि पछि पेट दुखाइ बढेपछि थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । तर, आईसीयू खाली नभएपछि उनलाई विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो ।
नोबेल अस्पतालमा अपराह्न शल्यक्रिया गरी आईसीयूमा राखेर उपचार भइरहेका बेला बिहीबार बिहानका राति उनको मृत्यु भएको हो । मृतकको शव हाल सोही अस्पतालमा राखिएको र तीनैवटा दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























