पाँचथरको च्याङथापूमा संकट, पहिरोले बस्ती नै असुरक्षित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार ०७:५३

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूमा बेमौसमी वर्षापछि गएको पहिरोले बस्ती नै असुरक्षित बनेको छ ।

जेठ ८ गतेदेखि सुरु भएको पहिरोका कारण यहाँका कम्तीमा २६ घर उच्च जोखिममा परेका छन् भने करिब ७० घर जोखिम क्षेत्रमा रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोलमा पहिरोले ठूलो असर पुर्याएको छ ।

Advertisement

कतिपय घरमाथिबाट पहिरो झरेको छ भने केही घरमुनिबाट जमिन भासिएको छ । चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवास तथा कोप्चेका गंगाराम बेघाको घर पहिरोले बगाइसकेको छ ।

लगातारको जोखिमका कारण स्थानीय त्रासमा छन् । पानी पर्नासाथ सुरक्षित स्थानतर्फ भाग्नुपर्ने अवस्था रहेको वडाध्यक्ष खालिङले बताए । पहिरोले मानवीय क्षति नभए पनि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन पुरिएको र अलैँची बगान नष्ट भएको छ ।

च्याङथापूमा तीन वर्षअघि पनि भीषण बाढीपहिरो गएको थियो । विसं २०८० असार ३ गते मेवाखोलासहित विभिन्न खोलामा आएको बाढीले बस्ती तहसनहस बनाएको थियो । त्यसबेलाको क्षति पुनः दोहोरिएको भन्दै स्थानीयले सरकारसँग तत्काल दीर्घकालीन समाधानको माग गरेका छन् ।

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङका अनुसार अहिले प्रभावित क्षेत्रमा अत्यधिक त्रास फैलिएको छ । बाढीपहिरोले आठवटा सिँचाइ योजना, तीन वटा खानेपानी योजना र तीन वटा झोलुंगे पुलमा क्षति पुगेको छ । साथै, पुष्पलाल मध्यपहाडी राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ–फालोट सडक, च्याङथापू–समरजुङ तथा च्याङथापू–लामपोखरी सडकमा ठूलो क्षति पुगेको छ ।

सडक अवरुद्ध हुँदा सुकाढापस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टसम्म सामग्री पुर्याउन समस्या भएको छ । यातायात अवरुद्ध भएपछि ५० भन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् भने गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणसमेत प्रभावित बनेको छ ।

याङवरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार वडा नम्बर १, २ र ३ मा सबैभन्दा बढी क्षति पुगेको छ । हाल ओयामबाट सडक खुलाउने काम भइरहेको र फलामखोलासम्म सम्पर्क स्थापित गरिएको उनले जानकारी दिइन् ।

सडक पूर्णरूपमा नखुल्दा राहत वितरणसमेत प्रभावित भएको गाउँपालिकाले जनाएको छ । तीन वर्षअघिको क्षतिग्रस्त संरचना पुनर्निर्माण नहुँदै फेरि बाढीपहिरोले विनाश दोहोरिएपछि स्थानीयले च्याङथापू क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.