विस्फोटमा ५५ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार ०९:४४

एजेन्सी । म्यानमारको उत्तर–पूर्वी क्षेत्रमा खानी उत्खननका लागि भण्डारण गरेर राखिएको विस्फोटक पदार्थ पड्किँदा कम्तीमा ५५ जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । आइतबार भएको उक्त विस्फोटपछि आसपासका दर्जनौँ घर ध्वस्त भएका छन् ।

स्थानीय उद्धारकर्मी र सञ्चारमाध्यमका अनुसार घटना चीन सीमाबाट करिब ३ किलोमिटर दक्षिणमा पर्ने नामखाम टाउनसिपको काउङतुप गाउँमा भएको हो । विस्फोट भएको क्षेत्र हाल जातीय सशस्त्र समूह ‘तआङ नेशनल लिबरेसन आर्मी’को नियन्त्रणमा रहेको बताइएको छ ।

Advertisement

उद्धारमा संलग्न एक व्यक्तिका अनुसार विस्फोट अत्यन्त शक्तिशाली भएकाले सयभन्दा बढी घरमा क्षति पुगेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियो तथा तस्बिरहरूमा ध्वस्त भवन, आगलागी र भग्नावशेष देखिएका छन् ।

चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले पनि घटनामा ठूलो मानवीय क्षति भएको जनाएको छ । प्रारम्भिक विवरणअनुसार खानी सञ्चालनमा प्रयोग हुने ठूलो परिमाणको विस्फोटक पदार्थ राखिएको घरमै दुर्घटना भएको हो ।

सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि म्यानमार निरन्तर द्वन्द्व र हिंसाको चपेटामा छ । सैन्य शासनविरुद्ध सशस्त्र समूहहरू सक्रिय बन्दै गएपछि देशका विभिन्न क्षेत्रमा झडप र असुरक्षा बढिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.