
विराटनगर । कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या तथा पत्रकार आचारसंहितासम्बन्धी विषयमा केन्द्रित दुईदिने अन्तरक्रिया कार्यक्रम विराटनगरमा आइतबार सुरु भएको छ ।
पत्रकारितामा आबद्ध महिला, अपांगता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडिएका वर्गको सहभागिता र प्रतिनिधित्वलाई सशक्त बनाउने उद्देश्यले आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रका चुनौती, अवसर तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरूले पत्रकारितामा समावेशिता, व्यावसायिकता र उत्तरदायित्व अभिवृद्धि गर्न आवश्यक नीतिगत सुधार तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
साथै, पत्रकारहरूले आचारसंहिताको पालना गर्दै निष्पक्ष, सत्यतथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयासप्रति चिन्ता व्यक्त गरे ।
उनले पत्रकारितामाथि अंकुश लगाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गर्दै आफूहरू संघर्ष गरेर प्राप्त गरेको प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताए । मन्त्री पराजुलीले केन्द्र सरकारबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयास भए पनि कोशी प्रदेश सरकार पत्रकारहरूको हकहित, सुरक्षा र पेशागत स्वतन्त्रताको पक्षमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा संगालो खबर मिडिया प्रा.लि.ले कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया मंगलबारसम्म चल्ने छ ।



















