प्रधानमन्त्रीको अभिव्यक्तिको असर : हतियारसहित सुस्तामा पस्यो एसएसबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १४:४०

काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धलाई लिएर फेरि सीमा तनाव देखिएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिमा प्रवेश गरेर तटबन्ध निर्माण रोक्न दबाब दिएको स्थानीयले बताएका छन् ।

एसएसबीको टोली हतियारसहित नेपाल प्रवेश गरेको हो । आइतबार साँझ सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा पुगेको ४० देखि ५० जनाको एसएसबी टोलीले निर्माणस्थलमै पुगेर नयाँ तटबन्धको काम अघि नबढाउन चेतावनी दिएको स्थानीयको भनाइ छ । एसएसबीको धम्की र दबाबपछि निर्माण कार्य प्रभावित बनेको छ ।

Advertisement

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले पनि भारतीय पक्षको हस्तक्षेपपछि अन्योल सिर्जना भएको स्वीकार गरे । उनका अनुसार नारायणी नदीको कटान र बाढीबाट जोखिममा रहेको क्षेत्र जोगाउन करिब १४ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माण भइरहेको थियो । असारभित्र काम सक्ने लक्ष्य राखिएको भए पनि भारतीय पक्षको आपत्तिपछि कामको वातावरण असहज बनेको उनले बताए ।

उपाध्यायका अनुसार स्थानीयबाट प्राप्त सूचनाअनुसार एसएसबी टोली निर्माणस्थलमै पुगेर नयाँ तटबन्ध निर्माण नगर्न दबाब दिएको थियो । स्थानीयले यसलाई सीमा अतिक्रमण र विकास निर्माणमा हस्तक्षेपका रूपमा लिएका छन् ।

यसलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिसँग पनि जोडेर चर्चा हुन थालेको छ । प्रधानमन्त्रीले आइतबार संसदमा सम्बोधन गर्दै नेपालले पनि केही स्थानमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै सुस्तामा एसएसबी सक्रिय भएको घटनालाई लिएर स्थानीय तहमा विभिन्न अड्कलबाजी सुरु भएका छन् । यद्यपि, यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले भने अहिले निर्माण भइरहेको मुख्य तटबन्धमा प्रत्यक्ष अवरोध नभएको बताएका छन् । उनका अनुसार विवाद नयाँ ठेक्काअन्तर्गत थप निर्माण गर्न लागिएको भागलाई लिएर देखिएको हो । करिब एक किलोमिटर क्षेत्रमा भइरहेको मुख्य काम भने जारी रहेको उनले स्पष्ट पारे ।

घटनापछि स्थानीय प्रशासनले कूटनीतिक र प्रशासनिक माध्यमबाट विषय समाधान गर्ने तयारी थालेको जनाएको छ । सीमा क्षेत्रसँग जोडिएको संवेदनशील विषय भएकाले दुवै देशका सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको प्रशासनको भनाइ छ । प्रजिअ नेपालले यस विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकिएको बताए ।

सुस्ता क्षेत्र विगतदेखि नै सीमा विवाद, नदी कटान र भू–क्षयका कारण संवेदनशील मानिन्छ । नारायणी नदीको धार परिवर्तनसँगै सीमांकनसम्बन्धी विवाद बारम्बार उठ्दै आएको छ । अहिले तटबन्ध निर्माणमै भारतीय सुरक्षाकर्मीको हस्तक्षेप देखिएपछि स्थानीयवासी थप चिन्तित बनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.