
राजारानी । धनकुटाको दक्षिण–पूर्वी भेगमा पर्छ चौबिसे गाउँपालिका–६ को राजारानी । केही वर्षअघिसम्म यहाँको एउटा सानो पोखरी र छेउछाउको धान फल्ने खेतलाई सामान्य ग्रामीण भू–भागकै रूपमा हेरिन्थ्यो ।
खेतमा उब्जनी पनि खासै राम्रो हुँदैनथ्यो । पोखरी सानो र पानीको स्रोत सीमित थियो । तर, अहिले त्यही ठाउँ पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । हरियालीबीच फैलिएको सुन्दर ताल, बोटिङ, साइक्लिङ, फूलबारी र चिसो मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ ।

यो परिवर्तनको केन्द्रमा छन्, ५१ वर्षीय सुकपाल चेम्जोङ । वैदेशिक रोजगारीमा करिब आठ वर्ष कुवेतमा पसिना बगाएर गाउँ फर्किएका चेम्जोङले आफ्नो जन्मथलोमै केही फरक काम गर्ने सपना देखेका थिए । २०३२ सालमा जन्मिएका उनी गाउँमै केही सम्भावना खोजिरहेका थिए ।
विदेशबाट फर्किएपछि उनले दैनिक जीवन धान्न विभिन्न काम गरे । तर, कुनै पनि कामले उनलाई सन्तुष्टि दिन सकेन । अन्ततः उनले आफ्नै गाउँको एउटा उपेक्षित पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने आँट गरे ।
चेम्जोङका अनुसार अहिले ‘रानीताल’ भनेर चिनिने यो स्थानको पुरानो नाम ‘मावरक’ हो । लिम्बू भाषामा ‘मा;को अर्थ देवी र ‘वरक’को अर्थ पोखरी हुने भएकाले यसको अर्थ ‘देवीको पोखरी’ हुने उनले बताए । समयक्रमसँगै यही नाम फेरिँदै ‘रानीताल’का रूपमा परिचित भएको उनको भनाइ छ ।
उनले सम्झिए, ‘पहिले यो ठाउँ निकै सामान्य थियो । ताल सानो थियो, पानी कम थियो । वरिपरि धान फल्ने खेत थियो । तर, उत्पादन राम्रो थिएन । त्यही खेतबाट उम्रिएको पानी तालमा पुग्थ्यो । पछि मैले पानीको मुहान सफा गर्न थालेँ । क्षेत्र विस्तार गरेँ । विस्तारै पानी बढ्दै गयो र तालको स्वरूप बदलिन थाल्यो ।’

२०६३ सालतिरबाट उनले स्थानीयसँग मिलेर ताल संरक्षणको अभियान सुरु गरेका थिए । स्थानीयकै नाममा रहेको जग्गामा ‘रानीताल संरक्षण समिति’ बनाएर काम अघि बढाइयो । सुरुमा गाउँपालिकाले पनि केही सहयोग गरेको थियो । तालको पानी व्यवस्थापन गर्न सानो ड्याम समेत बनाइयो । तर, निजी जग्गामा बनेको संरचनामा सरकारी लगानी गर्न मिल्दैन भन्ने बुझाइका कारण पालिका पछि हटेपछि काम बीचमै रोकिएजस्तै भयो ।
चेम्जोङ भन्छन्, ‘केही समय ताल फेरि जीर्ण हुन थाल्यो । त्यसपछि मैले सबै जिम्मा आफैंले लिनुपर्यो ।’ त्यसयता उनले ताललाई व्यवस्थित बनाउन निरन्तर श्रम गरिरहेका छन् । पछिल्लो तीन वर्षयता त उनी पूर्ण रूपमा यही काममा केन्द्रित छन् । अहिले ताल क्षेत्रको सौन्दर्यीकरणदेखि पर्यटक आकर्षित गर्ने संरचना निर्माणसम्मका काम उनले आफ्नै पहलमा गरिरहेका छन् ।
उनका अनुसार ताल विकासको यात्राले उनको व्यक्तिगत जीवनशैली नै बदलिदिएको छ । ‘पहिले साथीभाइसँग चिया गफ गर्ने, भेटघाट गर्ने फुर्सद हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले बिहानदेखि साँझसम्म यही काममा व्यस्त हुन्छु । साथीभाइ भेट्ने समय नै हुँदैन । कति लगानी भयो भन्ने हिसाबसमेत राख्न भ्याएको छैन ।’
तालको संरक्षण र व्यवस्थापनलाई दीर्घकालीन रूपमा अघि बढाउन उनले समितिसँग तालको जिम्मा मागेका थिए । सुरुवातमा समितिले १० वर्षका लागि जिम्मेवारी दिएको उनले बताए । चेम्जोङको लक्ष्य भने यसलाई अझ ठूलो पर्यटकीय केन्द्र बनाउने रहेको छ ।

धनकुटाको प्रसिद्ध पर्यटकीय क्षेत्र भेडेटारबाट करिब आठ किलोमिटर दूरीमा रहेको रानीताल अहिले पूर्वी नेपालको आन्तरिक पर्यटकका लागि नयाँ रोजाइ बन्दै गएको छ । सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुटालगायत जिल्लाबाट घुम्न आउनेको संख्या बढ्दो छ । राजारानीको रानीताल अहिले निक्कै चर्चित पर्यटकीय स्थल बनिसकेको छ । भारतको दार्जिलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छल्न पर्यटक आउने गरेका छन् ।
ताल क्षेत्रमा अहिले बोटिङ, साइक्लिङ, ठूलो पिङ, आकर्षक फूलबारी र फोटो खिच्न मिल्ने विभिन्न संरचनाले पर्यटकलाई लोभ्याइरहेका छन् । स्थानीय विद्यालयहरूले समेत विद्यार्थीलाई अवलोकन भ्रमणका लागि यहाँ ल्याउन थालेका छन् ।
केही समयअघि राजारानी गोल्डकप फुटबल प्रतियोगिताको क्रममा गृहपालिका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले पनि ताल क्षेत्रमा साइक्लिङ गर्दै फोटोसुट गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमार्फत तालको चर्चा झनै फैलिएको स्थानीय बताउँछन् ।
विराटनगरबाट घुम्न पुगेका अंकु मगरले रानीतालको वातावरणले आफूलाई निकै आकर्षित गरेको बताए । उनका अनुसार रानीताल क्षेत्रको मौसम भेडेटारकै जस्तै चिसो र रमाइलो छ । ‘एकैछिनमा बाक्लो हुस्सु लाग्छ । वातावरण चिसो हुन्छ,’ उनले भने, ‘गर्मीबाट भागेर आउनेका लागि यो ठाउँ एकदम उपयुक्त छ । बोटिङ, फूलबारी र फोटो खिच्ने ठाउँहरूले झन् आकर्षित गर्छन् ।’

ताल करिब १०४ रोपनीमा फैलिएको छ । घेराबारसहितको सम्पूर्ण क्षेत्र अझ ठूलो रहेको चेम्जोङ बताउँछन् । तर, यति ठूलो सम्भावना हुँदाहुँदै पनि राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो उनको छ । कोशी प्रदेश सरकारले २०८२ साललाई भ्रमण वर्ष घोषणा गरे पनि त्यसको प्रभाव ग्रामीण पर्यटकीय क्षेत्रसम्म नपुगेको उनी बताउँछन् ।
‘व्यक्तिगत लगानीले मात्रै यति ठूलो परियोजना धान्न गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘पालिका र प्रदेश सरकारले साथ दिने हो भने यो क्षेत्र अझ उत्कृष्ट गन्तव्य बन्न सक्छ ।’ वर्षौंको मेहनतपछि धानखेत र सानो पोखरीबाट सुरु भएको ‘मावरक’ आज पूर्वी नेपालकै आकर्षक पर्यटकीय गन्तव्य बन्ने यात्रामा छ । एउटा व्यक्तिको सपना, श्रम र लगावले गाउँको अनुहार कसरी बदल्न सक्छ भन्ने उदाहरण अहिले धनकुटा राजारानीको रानीताल बनेको छ ।



















