
काठमाडौं । इन्डोनेसिया रहेका सातजना नेपाली पक्राउ परेका छन् । इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो ।
सोलो राया क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्न रहेको आशंकामा सातजना नेपाली र चारजना म्यानमारका नागरिकलाई पक्राउ गरेको हो ।
स्थानीय सञ्चारमाध्यम कोम्पास डटकमका अनुसार उक्त गिरोहले करिब ४१.१ अर्ब इन्डोनेसियाली रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले एक कम्पनीको कार्यालय र ६ वटा भाडाका कोठासहित ७ स्थानमा छापा मारेको जनाएको थियो ।
प्रहरीका अनुसार अपराधीहरूले टिन्डर, ट्यानट्यान, बम्बललगायतका डेटिङ एप र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत सम्भावित पीडितहरूसँग सम्पर्क गरी ठगी गर्ने गरेका थिए ।
सो कार्यमा संलग्न नेपालीमध्ये चारजना महिला र तीनजना पुरुष छन् । उनीहरू सबै २० वर्ष उमेर समूहका युवा रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर इन्डोनेसिया ल्याइएको थियो ।



















