
विराटनगर । विराटनगर महानगरपालिका– ५ ले वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई घरायसी सामग्री वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै वडा कार्यालयले एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान स्वरूप सामग्री हस्तान्तरण गरेको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा १० जना स्वास्थ्य स्वयंसेविकाहरूलाई जनही एक–एक थान प्रेसर कुकर र काँसको थाल वितरण गरिएको थियो ।
सामग्री वितरण गर्दै वडाध्यक्ष सन्तोष न्यौपानेले समाजलाई स्वस्थ राख्न र सरकारका स्वास्थ्य अभियानहरूलाई टोल–टोलमा पुर्याउन स्वयंसेविकाहरूले निभाएको भूमिका प्रशंसनीय रहेको बताए । उनले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उनीहरूको मनोबल बढाउन र कामप्रति थप उत्साहित बनाउन प्रोत्साहन स्वरूप घरायसी सामग्री वितरण गरिएको स्पष्ट पारे ।
‘स्वास्थ्य स्वयंसेविकाहरूले विना स्वार्थ समाजको सेवा गरिरहनुभएको छ,’ वडाध्यक्ष न्यौपानेले भने, ‘उहाँहरूको योगदानको तुलनामा यो सानो उपहार भए पनि यसले कार्यक्षेत्रमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौँ ।’
कार्यक्रममा वडा सचिव राजेन्द्रप्रसाद पराजुली, वडाका कर्मचारीहरु, स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सामग्री प्राप्त गरेपछि स्वयंसेविकाहरूले वडा कार्यालयले आफ्नो कामको मूल्यांकन गरेको भन्दै खुसी व्यक्त गरे ।

























