
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन् । उनी जेठ १८ गते भारत गएका थिए ।
भारत भ्रमणका क्रममा उनले नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको बताएका छन् । विशेषगरी सीमा समस्या, दुई देशबीचको आपसी सरोकार, तथा साझा प्राथमिकताका विषयहरूमा कुराकानी भएको उनको दाबी छ ।
लामिछानेले भारतका उच्च राजनीतिक नेतृत्वसँग भेट गरेको जानकारी दिएका छन् । उनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग अलग–अलग भेटवार्ता भएको थियो ।
भेटवार्तामा नेपाल–भारत सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रमा देखिने समस्या, सुरक्षा समन्वय, व्यापार तथा पूर्वाधार विकास, ऊर्जा सहकार्य र जनस्तरीय सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको बताइएको छ । लामिछानेले यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा व्याख्या गरेका छन् ।
नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र आर्थिक रूपमा गहिरो भएकाले नियमित संवाद आवश्यक रहेको उनको भनाइ छ । राजनीतिक विश्लेषकहरूले भ्रमण सामान्य कूटनीतिक संवादको हिस्सा भए पनि यसको प्रभाव दीर्घकालीन रूपमा मूल्यांकन गर्नुपर्ने बताएका छन् ।

























