
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोली कसले चलायो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ ।
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा. लिली थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो ? भन्ने यकिन गर्न नसकिएको बताएकी हुन् ।
आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग भएको उनले स्पष्ट पारिन् । आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ ।
अनुसन्धानका क्रममा प्राप्त फरेन्सिक रिपोर्टलाई आयोगले विशेषज्ञ डा. हरिहर वस्तीमार्फत विश्लेषण गराएको थियो । उनकाअनुसार प्रदर्शनकारीलाई लागेका अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा रहेको पाइएको थियो।



















