
विराटनगर । आगामी मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग समन्वय गरेर पूर्वतयारीलाई तीव्र बनाउने निर्णय गरेको छ ।
विराटनगरस्थित बिग होटलमा बिहीबार सम्पन्न प्रदेश स्तरीय सुरक्षा समन्वय समितिको बैठकले विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहत व्यवस्थापनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य विपद्जन्य घटनाको प्रभाव न्यूनीकरणको उपायका बारेमा गहन समीक्षा गरिएको थियो ।
बैठकले विराटनगर महानगरपालिका–१६ र झापाको मेचीनगर नगरपालिका–६ मा रहेको होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याएर लागुऔषध दुर्व्यसनमा परेका युवा–युवतीहरूको उपचार, सुधार तथा पुनर्स्थापनाका लागि प्रयोग गर्ने विषयमा कार्यदल गठन गरी संघीय सरकारसमक्ष आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी, वर्षात्का कारण इलाममा क्षति पुगेका घरहरूको पुनःनिर्माणका लागि आवश्यक लागत रकम स्वीकृत गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा विगतका मनसुनजन्य विपद्का घटनाहरूको अध्ययन गरी मानविय तथा भौतिक क्षतिको विश्लेषण गर्ने, विपद्का समयमा देखापर्न सक्ने समस्या तथा चुनौतीहरूको पहिचान गर्दै प्रभावकारी तयारी गर्ने विषयमा विशेष जोड दिइएको थियो । बाढी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचान गरी सुरक्षित स्थानको व्यवस्था गर्ने, सम्भावित प्रभावित नागरिकको सुरक्षित स्थानान्तरणका लागि पूर्वतयारी गर्ने तथा विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई सक्रिय अवस्थामा राख्ने निर्णयसमेत गरिएको छ ।
यसैगरी, विपद्को समयमा तत्काल आवश्यक पर्ने उद्धार सामग्रीहरूको पर्याप्त व्यवस्थापन गर्ने, विपद् उद्धारसम्बन्धी तालिम प्राप्त प्रहरी कर्मचारीहरूको परिचालन सुनिश्चित गर्ने तथा सुरक्षा निकाय, स्थानीय तह, संघसंस्था र सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ । बैठकले मनसुन अवधिभर आवश्यक उद्धार सामग्रीसहित सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशनात्मक प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, प्रदेश स्तरीय सुरक्षा समितिका पदाधिकारीहरू, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो । बैठकका सहभागीहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा समयमै गरिएको तयारीले सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
कोशी प्रदेशमा हरेक वर्ष मनसुनका कारण बाढी, पहिरो, कटान र डुबानका घटना दोहोरिने गरेको छ । यस वर्ष पूर्वतयारीलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ प्रदेश सरकारले सुरक्षा निकाय र सरोकारवाला निकायहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ ।

























