
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशसभामा अर्थमन्त्री युवराज भट्टराईले सोमबार बजेट प्रस्तुत गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, मानव विकास, सामाजिक न्याय, पूर्वाधार विकास, वातावरणीय सन्तुलन तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताए । कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ (३५.५४ प्रतिशतं र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ (६४.३६ प्रतिशत) विनियोजन गरिएको छ ।
प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै, संघीय सरकारबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ वित्तीय अनुदान प्राप्त हुने तथा चालु आर्थिक वर्षबाट बाँकी रहने ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ नगद मौज्दात उपयोग गरिने जनाइएको छ । बजेट व्यवस्थापनका लागि अपुग १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाइने व्यवस्था गरिएको छ ।
बजेटमार्फत ‘मेड इन मधेश, समृद्ध प्रदेश’ अभियानलाई अघि बढाउने लक्ष्य लिइएको छ । साथै, विगतको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रमलाई परिमार्जन गरी ‘शिक्षित छोरीः सुरक्षित मधेश, उद्यमशील नारीः समृद्ध प्रदेश’ नारासहित ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ सञ्चालनको घोषणा गरिएको छ ।

























