
विराटनगर । मोरङको केराबारीमा यात्रुवाहक बसको ठक्करबाट सोमबार अपरान्ह पैदलयात्री एक जना वृद्धको मृत्यु भएको छ ।
धरानबाट यात्रु लिएर केराबारीतर्फ आउँदै गरेको को १ ख २८२४ नम्बरको बसले मदन भण्डारी लोकमार्गअन्तर्गत केराबारी गाउँपालिका–७ दाहाल चोकमा वृद्धलाई अपरान्ह ४ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार बसको ठक्करबाट केराबारी–७ का ८० वर्षीय लोकबहादुर राईको मृत्यु भएको छ ।
पैदल हिँडिरहेका बेला बसले ठक्कर दिँदा गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले बस र चालक केराबारी–५ का २५ वर्षीय संगम रानामगरलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























