
विराटनगर । मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिको आयोजनामा सञ्चालित तीन दिने ‘प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन सीप विकास तालिम’ सम्पन्न भएको छ ।
महिला उद्यमीहरूको नेतृत्व क्षमता विकास गर्ने र उनीहरूलाई सार्वजनिक रूपमा निर्धक्क प्रस्तुत हुन सक्षम बनाउने उद्देश्यले आयोजित उक्त तालिममा मोरङका २५ जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरूलाई वक्तृत्वकला, प्रभावकारी सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि, शारीरिक भाषा, आवाजको उतारचढाव र श्रोतासँग संवाद गर्ने कलाबारे प्रशिक्षण दिइएको थियो ।
सैद्धान्तिक ज्ञानका साथै सहभागीहरूलाई व्यावहारिक अभ्यास समेत गराइएको थियो । जसले उनीहरूमा सार्वजनिक रूपमा बोल्ने डर हटाउन मद्दत पुर्याएको आयोजकले जनाएको छ ।
तालिम समापनका अवसरमा बोल्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उद्यमी बन्नका लागि प्राविधिक ज्ञान मात्र पर्याप्त नहुने बताए । उनले भने, ‘व्यवसाय प्रवर्द्धन र व्यक्तिगत विकासका लागि प्रभावकारी सञ्चार र प्रस्तुतीकरण सीप अनिवार्य छ । यो तालिमले महिला उद्यमीहरूको व्यावसायिक यात्रामा नयाँ ऊर्जा थप्ने विश्वास लिएका छौँ ।’ उनले आगामी दिनमा पनि महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, संघका महासचिव सञ्जयकुमार श्रेष्ठले तालिमबाट प्राप्त सिकाइलाई व्यवहारमा उतार्न सके सामाजिक र व्यावसायिक दुवै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न सहज हुने धारणा राखे । महिला उद्यम समितिकी सहसंयोजक साधना झाले महिला सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम कोशेढुंगा साबित हुने बताइन् ।
सहभागी महिला उद्यमीहरूले तालिमपछि आफूहरूमा सार्वजनिक रूपमा बोल्न सक्ने आत्मविश्वास बढेको र कार्यक्रम सञ्चालनका प्राविधिक पक्षबारे प्रस्ट भएको भन्दै खुसी व्यक्त गरे। तालिमले उनीहरूलाई आफ्नो व्यवसायको ब्रान्डिङ र मार्केटिङका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

























