
विराटनगर । झापाको मेचीनगर–४ बाहुनडाँगीका हात्तीपीडितले आफूहरूको मागप्रति सरकार गम्भीर नबने आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । वर्षौंदेखि जंगली हात्तीको आतंक झेल्दै आएका स्थानीय सरकारप्रति आक्रोशित बनेका छन् ।
विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेशस्तरीय मिडिया सम्मेलनकै बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई चारबुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले आयोजना गरेको मिडिया सम्मेलनमा प्रदेशभरका सञ्चारकर्मीको उपस्थिति रहेको अवसरलाई उपयोग गर्दै हात्तीपीडितले आफ्नो आवाज राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले मुख्यमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
हात्तीपीडित अगुवाहरूले लामो समयदेखि सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ ठोस पहल नभएको गुनासो गरे । सरकारप्रति आक्रामक बनेका हात्तीपीडितले अब चुप लागेर बस्न नसक्ने चेतावनी पनि दिएका छन् । उनीहरूले सरकारसँग भारतबाट बाहुनडाँगी क्षेत्रमा नियमित रूपमा प्रवेश गर्ने जंगली हात्तीको आवागमन बिनासर्त रोक्नुपर्ने मुख्य माग राखेका छन् । त्यस्तै, तत्काल लागू हुने गरी नेपाल प्रवेश गर्ने जंगली हात्तीलाई रबरको गोली प्रयोग गरेर भारतीय सीमातर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् ।
हात्तीपीडितले पूर्वी नेपालमा प्रस्ताव गरिएको मेची नदीको किनारदेखि सुनसरीको कोशी टप्पुसम्म फैलिएको हात्ती कोरिडोरको अवधारणाप्रति समेत कडा असहमति जनाएका छन् । उक्त योजना स्थानीय बासिन्दाको जीविकोपार्जन, बसोबास र मानव सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने भएकाले तत्काल खारेज गनुपर्ने माग उनीहरुको छ । ‘मानिसलाई विस्थापित गरेर वन्यजन्तु संरक्षण गर्न खोजिएको अवधारणा स्वीकार्य हुन सक्दैन,’ उनीहरुले भने ।
यसैगरी, हात्तीको उच्च जोखिम रहेको क्षेत्रमा सञ्चालन भइरहेका पर्यटकीय गतिविधि तत्काल बन्द गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ । स्थानीयका अनुसार जोखिम कायम रहेकै अवस्थामा पर्यटन प्रवर्धन गर्नु नागरिकको सुरक्षामाथिको बेवास्ता हो ।
हात्तीपीडितले आफ्ना मागहरू कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद, मेचीनगर नगरपालिका र डिभिजन वन कार्यालय झापालाई समेत औपचारिक रूपमा राखिसकेको बताएका छन् । उनीहरूले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘यदि मागप्रति चाँडो सुनुवाइ नभए चरणबद्ध आन्दोलन सुरु गरिनेछ । आन्दोलनको आवश्यक परेमा कार्यक्रम पछि सार्वजनिक गरिने छ ।’
बाहुनडाँगी क्षेत्र लामो समयदेखि भारतबाट आउने जंगली हात्तीको प्रवेशद्वारका रूपमा चिनिन्छ । प्रत्येक वर्ष हात्तीको आतंकका कारण स्थानीयले मानवीय, भौतिक र आर्थिक क्षति बेहोर्नु परिरहेको छ । रातभर जाग्राम बस्नुपर्ने बाध्यता स्थानीयले झेल्दै आएका छन् । दशकौँदेखि समस्या दोहोरिँदै आए पनि सरकारबाट दीर्घकालीन समाधान नआएकाले स्थानीयमा असन्तुष्टि र आक्रोश बढ्दै गएको छ ।
मिडिया सम्मेलनजस्तो सार्वजनिक मञ्चमै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिनुलाई हात्तीपीडितको बढ्दो असन्तुष्टि र सरकारमाथिको दबाबका रुपमा हेरिएको छ । संघीय र प्रदेश सरकारले हात्ती नियन्त्रणका लागि उपयुक्त कदम नचालेमा अब चुप लागेर नबस्ने चेतावनी उनीहरुले दिएका छन् ।
मेचीनगर–१, २, ३ र ४ (साबिक बाहुनडाँगी) क्षेत्रका बासिन्दाले जंगली हात्तीको बढ्दो आतंकबाट ज्यान सुरक्षा गरिदिनुपर्ने माग राख्दै यसअघि बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र पठाएका थिए । चारवटै वडाका करिब १२ हजार स्थानीयको हस्ताक्षरसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत प्रधानमन्त्री कार्यालय पठाइएको हो ।
ज्ञापनपत्रमार्फत भारतबाट दिनहुँ नेपाल प्रवेश गर्ने जंगली हात्तीको आवतजावत तत्काल रोक्न, मानव बस्तीमा पसेका हात्तीलाई रबरको गोली प्रयोग गरेर सुरक्षित रूपमा जंगलतर्फ फर्काउने व्यवस्था गर्न, मेचीदेखि कोशी टप्पुसम्म प्रस्ताव गरिएको हात्ती करिडोर परियोजना खारेज गर्न तथा हात्तीको आतंकबाट आधार बनाएर पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन नगर्न सरकारसँग माग गरिएको थियो । मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्तीको आक्रमणबाट जनधनको क्षति निरन्तर बढेपछि सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको बताए ।
स्थानीयले भारतबाट निर्बाध रूपमा नेपाल प्रवेश गर्ने हात्तीको बथानलाई सीमामै रोक्ने प्रभावकारी उपाय अवलम्बन नगरेसम्म समस्या समाधान नहुने बताएका छन् । झापाका प्रजिअ गेलालले जनधनको सुरक्षा र हात्ती नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए ।
पछिल्लो एक महिनायता भारतबाट ठूला बथानमा जंगली हात्ती दैनिकजसो बाहुनडाँगी क्षेत्रमा प्रवेश गरिरहेका छन् । एक साताअघि मेचीनगर–४ मा आँगनमा फूल टिपिरहेकी ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणमा मृत्यु भएको थियो । हालैका दिनमा सयौँ बिघा क्षेत्रफलमा लगाइएको सुपारी, मकै, चियालगायतका बालीसमेत हात्तीले नष्ट गरेपछि स्थानीय आक्रोशित बनेका छन् ।

























