
विराटनगर । गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगर आएर नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा अधिकारीहरूसँग विस्तृत छलफल गरेका छन् । काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत बिहान करिब ११ बजेतिर विराटनगर विमानस्थल अवतरण गरेका गृहमन्त्री गुरुङको स्वागत सुरक्षा निकायका प्रमुखहरूले गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रहरी कार्यालयका जीर्ण भवन र कमजोर भौतिक संरचनाको समस्या सरकारलाई राम्रोसँग जानकारी रहेको बताए । बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गर्दै उनले स्रोत व्यवस्थापन गरेर प्रहरीका आवश्यक भवन निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थलगत निरीक्षण आवश्यक भएको भन्दै गृहमन्त्री गुरुङ कोशी प्रदेश आएको सुरक्षा स्रोतले बताएको छ । सीमा क्षेत्रमा सुरक्षा अवस्था, प्रहरी परिचालन, उपलब्ध पूर्वाधार तथा सुधार गर्नुपर्ने पक्षका बारेमा सम्बन्धित निकायसँग छलफल गरेका उनले निरीक्षणका क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताए ।
विराटनगर विमानस्थलमा औपचारिक कार्यक्रमकै क्रममा सुरक्षामा परिचालित प्रहरीका तालिमप्राप्त कुकुरसँग गृहमन्त्रीको आत्मीय व्यवहारले सबैको ध्यान खिच्यो । उनले कुकुरलाई सुम्सुम्याउनुका साथै आफ्नो हात चाट्न दिँदा त्यहाँ उपस्थित सुरक्षाकर्मी र सर्वसाधारणले चासोपूर्वक उक्त दृश्य हेरेका थिए । पशुप्रतिको उनको आत्मीय व्यवहारले केहीबेर विमानस्थलको वातावरण नै फरक एवं रमाइलो बनेको थियो ।

त्यसपछि गृहमन्त्री गुरुङ जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका लागि गए । त्यहाँ उनले भवनको अवलोकन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी युवराज कटेलसँग जिल्लाको समग्र प्रशासनिक अवस्था, सेवा प्रवाह र सुरक्षा अवस्थाका बारेमा जानकारी लिए । प्रशासनसँग पर्याप्त सरकारी जग्गा रहेकाले एउटै परिसरबाट एकीकृत सेवा सञ्चालन गर्न सकिने सुझाव दिँदै उनले त्यसतर्फ आवश्यक व्यवस्थापन गर्न निर्देशनात्मक धारणा राखेका थिए ।

प्रशासन कार्यालयको निरीक्षणपछि उनले कार्यालय परिसर बाहिर रहेको हनुमान मन्दिरमा पूजाअर्चना गरेका थिए । त्यसपछि शुभेच्छुकहरूसँग तस्बिर खिचाउँदै उनी विराटनगरको रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा पुगे । त्यहाँ प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँग सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन तथा समसामयिक सुरक्षा अवस्थाका बारेमा विस्तृत ‘ब्रिफिङ’ लिएका थिए ।
प्रदेश प्रहरी कार्यालयको कार्यक्रमपछि गृहमन्त्री गुरुङ भारतबाट विराटनगर प्रवेश गर्ने मुख्य मार्ग रानीस्थित जोगवनी सीमा नाकामा पुगेका थिए । भारतसँग जोडिएको प्रमुख सीमा नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका बारेमा उनले प्रत्यक्ष अवलोकन गरेका छन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग उनले आवश्यक सुधारका विषयमा अनौपचारिक छलफलसमेत गरेका थिए ।
त्यसपछि उनले विराटनगर भन्सार कार्यालय अन्तर्गतको एकीकृत जाँच चौकी (आईसीपी)को निरीक्षण गरे । भन्सार क्षेत्रमा भइरहेको गतिविधि, सुरक्षा व्यवस्थापन तथा राजस्वसँग सम्बन्धित विषयमा जानकारी लिँदै गुरुङले सीमाबाट हुने अवैध कारोबार नियन्त्रणमा प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखेका थिए ।
भन्सार निरीक्षणपछि गृहमन्त्री गुरुङ जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका थिए । त्यहाँ मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसँग जिल्लाको शान्तिसुरक्षा, अपराध नियन्त्रण, प्रहरी जनशक्ति परिचालन तथा चुनौतीका बारेमा जानकारी लिएका छन् । गुरुङले प्रहरी हिरासत, प्रहरी बस्ने तथा सुत्ने ब्यारेक र अन्य भौतिक संरचनाको समेत स्थलगत निरीक्षण गर्दै सुधार आवश्यक रहेका पक्षहरूको अवलोकन गरेका थिए ।
निरीक्षणका क्रममा उनले पुनः प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको दोहोर्याए । धेरै प्रहरी भवन जीर्ण अवस्थामा रहेकाले सुरक्षा संरचना निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरेर काम अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।
मोरङका विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको निरीक्षण सम्पन्न गरेपछि गृहमन्त्री गुरुङ सुनसरीतर्फ प्रस्थान गरेका थिए । मोरङ बसाइका क्रममा उनले सीमा सुरक्षाको अवस्था, सम्भावित चोरी तस्करी, प्रशासनिक सेवा प्रवाह, प्रहरी पूर्वाधार तथा सुरक्षा संयन्त्रको कार्यसम्पादनका बारेमा प्रत्यक्ष जानकारी लिँदै सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन् ।



















