‘ह्वीप’को सहारामा कोशी प्रदेशको बजेट पारित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १४:०३

विराटनगर । कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट बुधबार पारित गरेको छ । बजेटका कतिपय प्रावधानप्रति सत्तारुढ दलभित्रै व्यापक असन्तुष्टि देखिएपछि दलहरूले ‘ह्वीप’ जारी गरेका थिए ।

सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसले बजेट पारित गर्न आफ्ना सांसदहरुलाई ‘ह्वीप जारी गरेका थिए । दुवै दलले अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेका हुन् । सत्तापक्षभित्रै तीव्र मतभेद देखिएपछि सम्भावित ‘फ्लोर क्रस’ र अनुपस्थितिलाई रोक्न दुवै दलले ‘ह्वीप’को सहारा लिएर बजेट पारित गराएका हुन् ।

मुख्यमन्त्री र मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध र हस्ताक्षर अभियान चलाएपछि सरकार दबाबमा परेको थियो । सांसदहरूको असन्तुष्टिका कारण यसअघि पटकपटक प्रदेशसभा बैठक स्थगित भएको थियो । अन्ततः सरकारले बजेटको असन्तुलन मिलाउन विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ कटौती (सरेन्डर) गर्ने प्रतिबद्धता जनाएपछि विवाद साम्य भएको थियो ।

पारित बजेटअनुसार चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ तथा वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड रुपैयाँ र संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ जुटाइने अनुमान गरिएको छ ।

त्यस्तै, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड रुपैयाँ, रोयल्टीबाट ४१ करोड रुपैयाँ र सोझै भुक्तानी शीर्षकबाट २० करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । बाँकी ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने बजेट वक्तव्यमा उल्लेख छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरेको थियो ।

कोशी प्रदेश : बजेट पारित गर्न एमाले र कांग्रेसद्वारा ‘ह्वीप’ जारी

तपाइको प्रतिक्रिया
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
मेयरसहित १३ जनाविरुद्ध मुद्दा
मौद्रिक नीतिपछि नेप्सेमा दबाब, लगानीकर्ताको निराशाले ३० अंकको गिरावट
ट्रपले गरे युद्धविराम अन्त्यको घोषणा
सरकारको उद्देश्य व्यवसायी थुन्ने होइन, देश बनाउने हो : प्रधानमन्त्री
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै
‘ह्वीप’को सहारामा कोशी प्रदेशको बजेट पारित
विराटनगरको कोशी अस्पतालमा उपचाररत ज्यान मुद्दाका बन्दीको मृत्यु
एमाले सांसद राईले सभामुखलाई तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि…
विराटनगरमा गाँजासहितको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता
माइतीघरमा करेन्ट लागेर विराटनगरकी सञ्जुको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.