ट्रपले गरे युद्धविराम अन्त्यको घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १६:०८

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्धविराम अब अन्त्य भइसकेको औपचारिक घोषणा गरेका छन् ।

दुई देशबीच हालै शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमण भएका छन् । त्यसबीच राष्ट्रपति ट्रम्पले अमेरिका–इरान युद्धविराम अब अघि बढ्न नसक्ने बताए । नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प इरानी नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए । इरानसँग अब कुनै पनि संवादको औचित्य नरहेको दाबी उनको थियो ।

‘युद्धविराम अब समाप्त भइसकेको छ । म अब उनीहरूसँग कुनै कुराकानी गर्न चाहन्नँ । उनीहरू घटिया मानिस हुन् । युद्धविरामको मामिला अब सकियो । उनीहरुले सधैं ढाँट्ने भएकाले कुरा गर्नु समयको बर्बादी मात्र हो,’ उनले भने । ट्रम्पले दुवै पक्षका वार्ताकारहरूले चाहेमा कुराकानी अगाडि बढाउन सक्ने भए तापनि त्यसले समयको बर्बादी मात्र गराउने टिप्पणी गरे ।

इरानी वार्ताकारहरूप्रति थप टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरू वास्तवमै मानसिक रूपमा अस्वस्थ छन् । उनीहरूका नेताहरू मानसिक रूपमा बिरामी मानिसहरू हुन् । मेरो नजरमा उनीहरूसँग डिल गर्नु समय बर्बाद गर्नु मात्र हो ।’ उनले यस विषयमा आफूले निकटवर्ती सहयोगीहरू स्टिभ विट्कफ र जेराल्ड कुश्नरसँग थप कुराकानी गर्ने बताए । तर, वार्ताको टेबलमा फर्किने वा नफर्किने भन्ने कुराको अन्तिम निर्णय अब इरानकै हातमा रहेको उनको भनाइ छ ।

यता, इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिकामाथि दुई देशबीच भएको समझदारी पत्र (एमओयू) उल्लंघन गरेको आरोप लगाएका छन् । एक विज्ञप्ती जारी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकी हमला, इरानी तेल बिक्रीमाथि पुनः लगाइएको प्रतिबन्ध र लेबनानमा हिजबुल्लाहसँग इजरायलको जारी संघर्षका कारण युद्ध रोक्ने सम्झौताका ‘महत्त्वपूर्ण र आधारभूत पक्षहरू निष्प्रभावी’ भइसकेको बताएका हुन् ।

उनले इरान आफ्नो ‘क्षेत्रीय अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाका लागि जुनसुकै कदम चाल्न पनि पछि नहट्ने स्पष्ट पारे । त्यस्तै उनले आफ्नो अमेरिकी सैन्य अखडा रहेका खाडी देशहरूलाई समेत चेतावनी दिएका छन् । यदि ती अखडाहरूबाट इरानमाथि कुनै पनि आक्रमण भएमा इरानले आक्रमणको स्रोत र उक्त स्थानलाई नै निशाना बनाउने उनको चेतावनी छ ।

इरानको यो प्रतिक्रिया अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)को दाबीपछि आएको हो । जसमा अमेरिकी सेनाले इरानका ८० भन्दा बढी ठेगानाहरूमा हमला गरेको उल्लेख थियो । यसको जवाफमा आफूले बहराइनस्थित केही अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको इरानले दाबी गरेको छ ।

मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू बुधबार अङ्कारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र अन्य सदस्य राष्ट्रबीच रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता तथा युक्रेन युद्ध प्रमुख एजेन्डाका रूपमा रहेका छन् ।

शिखर सम्मेलन सुरु हुनुअघि नाटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता पूर्ण रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले पनि रक्षा खर्च बढाएर आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । उनले अमेरिकी प्रशासनको यही प्रमुख अपेक्षा रहेको उल्लेख गरे ।

वार्ता सुरु हुनुअघि अमेरिकी सेनाले हर्मुज जलघाँटीमा जहाजमाथिको आक्रमणपछि इरानमा व्यापक सैन्य कारबाही गरेकाले मध्यपूर्वको तनाव शिखर सम्मेलनमा पनि मुख्य चासोको विषय बनेको छ । टर्की पुग्नासाथ राष्ट्रपति ट्रम्पले राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको सम्बन्धको खुलेर प्रशंसा गरे । त्यसको विपरीत उनले फेरि नाटोप्रति असन्तुष्टि जनाउँदै केही सहयोगी राष्ट्रले इरान संकटका क्रममा पर्याप्त साथ नदिएको गुनासो गरे ।

७७ वर्ष पुरानो नाटो गठबन्धन ट्रम्पले सदस्य राष्ट्रमाथि रक्षा खर्च बढाउन निरन्तर दबाब दिइरहेका बेला शिखर सम्मेलन भइरहेको हो । नाटोले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार युरोपेली सदस्य राष्ट्रहरूको रक्षा खर्च सन् २०२६ मा ११ प्रतिशतले बढेर ६३४ अर्ब अमेरिकी डलर पुगेको छ । यो अघिल्लो वर्ष ५७१ अर्ब डलर थियो ।

ट्रम्पसँगको मतभेद कम गर्न सदस्य राष्ट्रहरूले मंगलबार अर्बौं डलर बराबरका नयाँ हतियार खरिद सम्झौता सार्वजनिक गरेका छन् । महासचिव रुटले यसलाई सहयोगी राष्ट्रहरूले आफ्नो सुरक्षा जिम्मेवारी बढाउँदै गएको प्रमाण र अमेरिकी राष्ट्रपतिका लागि ठूलो उपलब्धिका रुपमा अर्थ्याए ।

यसैबीच ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा हुनुपर्ने आफ्नो पुरानो धारणा पुनः दोहोर्‍याएका छन् । त्यसको जवाफमा डेनमार्क प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारे ।

शिखर सम्मेलनको अर्को महत्त्वपूर्ण विषय रुस–युक्रेन युद्ध पनि बनेको छ । ट्रम्पले युद्धरत दुवै पक्ष वार्तामार्फत समाधान खोज्न इच्छुक रहेको बताए । उनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेटवार्ता गर्ने तथा त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः संवाद गर्ने योजना रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

युरोपेली राष्ट्र र क्यानाडाले सन् २०२६ र २०२७ मा युक्रेनलाई वार्षिक ७० अर्ब युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्‍याएका छन् । ट्रम्पले शिखर सम्मेलनका क्रममा सिरियाका राष्ट्रपति अहमद अल–सारासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । गृहयुद्धपछि अन्तर्राष्ट्रिय सम्बन्ध पुनःस्थापित गर्ने प्रयास गरिरहेको सिरियाका लागि यो भेटलाई महत्त्वपूर्ण मानिएको छ ।

टर्कीसँगको रक्षा सहकार्यका बारेमा पनि सकारात्मक संकेत दिँदै ट्रम्पले अङ्कारामाथि लगाइएका अमेरिकी प्रतिबन्ध हटाउने र एफ–३५ लडाकू विमान बिक्रीको सम्भावनाका बारेमा विचार गर्ने बताए । सन् २०१९ मा रूसबाट रक्षा प्रणाली खरिद गरेपछि टर्की एफ–३५ कार्यक्रममा सहभागी हुनबाट रोकिएको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा खेल प्रतिभा कदर : पदक विजेतादेखि खेल पत्रकारसम्म पुरस्कृत
बाढी र मनसुनः त्रासमा मोरङका बस्ती
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
मेयरसहित १३ जनाविरुद्ध मुद्दा
मौद्रिक नीतिपछि नेप्सेमा दबाब, लगानीकर्ताको निराशाले ३० अंकको गिरावट
ट्रपले गरे युद्धविराम अन्त्यको घोषणा
सरकारको उद्देश्य व्यवसायी थुन्ने होइन, देश बनाउने हो : प्रधानमन्त्री
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै
‘ह्वीप’को सहारामा कोशी प्रदेशको बजेट पारित
विराटनगरको कोशी अस्पतालमा उपचाररत ज्यान मुद्दाका बन्दीको मृत्यु
एमाले सांसद राईले सभामुखलाई तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि…
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.