कोशी प्रदेशमा स्थानीय उत्पादनको पोसाक अनिवार्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १७:४८

विराटनगर । कोशी प्रदेश सरकारले कर्मचारीहरूका लागि स्थानीय उत्पादनबाट निर्मित पोसाक अनिवार्य गरेको छ । प्रदेशभित्रको उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले ढाका, खाँडी र अल्लोका कपडाबाट बनेका कार्यालय पोसाक हप्तामा दुई दिन अनिवार्य गरेकाे हाे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अबदेखि कर्मचारीहरूले साताको दुई दिन बुधबार र शुक्रबार अनिवार्य रूपमा स्थानीय उत्पादनको पोसाक लगाउनुपर्नेछ । स्थानीय उत्पादनको प्रयोगका लागि सरकारले कर्मचारीहरूलाई वार्षिक पोसाक भत्ता बापत प्रतिव्यक्ति ५ हजार ५ सय रूपैयाँ थप गरेको छ ।

सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजैदेखि स्थानीय उत्पादनबाट बनेको पोसाक लगाउन सुरु गरिसकेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो अभियानलाई प्रदेशभर विस्तार गर्ने योजना अघि सारेका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यो अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति लिएको उनले जानकारी दिए ।

यो अभियानले कोशी प्रदेशको पहिचान बोकेका ढाका, खाँडी र अल्लो जस्ता स्थानीय वस्तुको उत्पादन, बजारीकरण र खपतलाई प्रोत्साहन गर्नेछ । ‘यसबाट हाम्रा स्थानीय उद्योग र उद्यमीहरूले प्रत्यक्ष लाभ पाउनेछन् र प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.