विराटनगर जलाएको घटनाका मुख्य अभियुक्त धरौटीमा रिहा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १९:३३

विराटनगर । जेनजी आन्दोलनको आवरणमा कोशी प्रदेशको राजधानी विराटनगर जलाएको घटनाका मुख्य अभियुक्त ताजिम अन्सारी धरौटीमा रिहा भएका छन् ।

अन्सारीलाई थुनामा पठाउने जिल्ला अदालत मोरङको आदेश बदर गर्दै उच्च अदालत विराटनगरले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । अन्सारीलाई असार १२ गते जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशबाट मोरङ कारागार चलान भएका अन्सारी उच्चको आदेशपछि सोमबार छुटेका हुन् ।

न्यायाधीशहरु ध्रवराज नन्द र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले उनलाई असार २५ गते धरौटीमा छाड्न आदेश दिएको उच्च अदालतका सूचना अधिकारी सन्तोष पोखरेलले बताए । उनका अनुसार अन्सारीले जिल्लाको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बरको निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै उच्चको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी पोखरेलले बताए ।

प्रहरीको अनुसन्धानबाट अन्सारी आगजनी र तोडफोड घटनाको नेतृत्वकर्ता रहेको पत्ता लागेको थियो । लामो समयदेखि फरार रहेका अन्सारीलाई मोरङ अदालत हाजिर भएकै दिन असार १२ गते बयान र थुनछेक बहसपछि कारागार चलान गरियो । आगजनी र तोडफोडको मुख्य अभियुक्तका रूपमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनीविरुद्ध अदालतमा आपराधिक उपद्रवसँग सम्बन्धित दुईवटा अलगअलग मुद्दा दर्ता गरेको थियो ।

उनीविरुद्ध विराटनगरस्थित नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी एवं तोडफोड गरिएको घटनालाई लिएर अलगअलग मुद्दा दर्ता भएको हो । नापी कार्यालयसँग सम्बन्धित मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालतले सरकारी वकिल कार्यालयसँग सम्बन्धित मुद्दामा भने धरौटीबापत ३ लाख रूपैयाँ माग गरेको थियो ।

वकिल कार्यालयसँग जोडिएको मुद्दामा ३ लाख रूपैयाँ धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न अदालतबाट आदेश भए पनि नापी कार्यालयको मुद्दामा कारागार चलान भएका अन्सारीले धरौटीबापतको रकम बुझाएका थिएनन् । उच्च अदालतले थुनामा राख्ने जिल्लाको आदेश बदर गर्दै उनलाई धरौटीबापतको ३ लाख रूपैयाँ लिएर छाड्न आदेश दिएको सूचना अधिकारी पोखरेलको भनाइ छ ।

तर, थुनामा राख्ने आदेश बदर गरेको उच्चले पनि जिल्ला अदालतको अर्को आदेश भने सदर गरेको छ । जिल्लाले ३ लाख रूपैयाँ धरौटी माग गरेको आदेश उच्चबाट पनि सदर भएको हो । जिल्लाको धरौटीबापतको आदेश सदर गर्दै उनीसँग दुवै मुद्दामा ६ लाख रूपैयाँ धरौटी माग गर्ने आदेश भएको जानकारी पोखरेलले दिए । ‘थुनाको आदेश बदर गरेर ३ लाख धरौटी माग भएको छ । जिल्लाको ३ लाखको धरौटी आदेश भने सदर भयो,’ उनले भने ।

उच्चको आदेशपछि दुवै मुद्दाको ३–३ लाख गरेर धरौटीबापट ६ लाख बराबरको जेथाजमानी राखेर अन्सारी रिहा भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनका अनुसार अन्सारीले धरौटीबापत रकम राखेनन् । ‘उच्चबाट असार २५ गते नै आदेश भएको हो । त्यसको ४ दिनपछि सोमबार धरौटीबापत ६ लाख बराबरको जेथाजमानी राखेर अन्सारी रिहा भएका छन् । धरौटीबापत रकम राखेको हैन,’ बुढाथोकीले भने ।

उनका अनुसार यसअघि एउटा मुद्दामा थुनामा राख्ने आदेश भएर कारागार चलान भएका अन्सारीले अर्को मुद्दामा माग गरिएको धरौटीबापतको ३ लाख रूपैयाँ बुझाएका थिएनन् । उच्चको आदेशपछि भने ६ लाख बराबरको जेथाजमानी राखेर सोमबार अन्सारी रिहा भएको सूचना अधिकारी बुढाथोकीको भनाइ छ ।

जेनजी आन्दोलनको आवरणमा २०८२ साल भदौ २४ गते विराटनगरमा आगजनी, तोडफोड र लुटपाट गरिएको थियो । आपराधिक समूहले आगजनी र तोडफोड गरेर कोशी प्रदेशसभा सचिवालय, प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा निवास, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, उच्च अदालत, नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय, विराटनगर महानगरपालिका, वडा कार्यालयहरू लगायत विभिन्न सकारी कार्यालय तथा व्यक्तिका घरहरुदेखि भाटभटेनी सुपरमार्केटसम्म ध्वस्त पारेको थियो ।

केही कार्यालयमा भएको आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लाग्यो । घटनामा संलग्नलाई पहिचान गरी प्रमाणका आधारमा प्रहरीले अनुसन्धान र कानुनी कारबाही अघि बढाएको थियो । त्यही क्रममा विराटनगरबाट अन्सारीसहित ६ जना २०८२ साल मंसिर १४ गते पक्राउ परेका थिए ।

तर, राजनीतिक दलका नेताहरुको दबाबमा उनीहरु त्यतिबेला हाजिरजमानीमा छुटेका थिए । उनीहरु छुट्दा तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीलगायतले उत्सव मनाउँदै फूलमाला र अबिरजात्रासहित भव्य स्वागत गरेका थिए ।

मोदी मन्त्री हुँदा अन्सारी उनका स्वकीय सचिव थिए । २०८२ साल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका मोदीको चुनाव प्रचारमा अन्सारी सक्रिय रुपमा खटिएका थिए । त्यतिबेला उनी मोदीको मुख्य प्रचारकका रुपमा खटिएका हुन् ।

अदालतमा मुद्दा दर्ता हुनुअघि नै हाजिरजमानीमा छुटेका अन्सारीलगायतका अभियुक्तहरु पछि हाजिर नभएपछि सरकारी वकिल कार्यालयले फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा लगेको थियो । अदालतले अन्सारीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको थियो । तर, फरार सूचीमा रहेका उनी आफैं अदालत हाजिर भएका हुन् । आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न अभियुक्तविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

जेनजी आवरणमा विराटनगर जलाउने घटनाका मुख्य अभियुक्त ताजिम अन्सारी कारागार चलान

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.