विराटनगरको शौर्य सहकारीका अध्यक्ष पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार २०:३४

विराटनगर । विराटनगरको नेता चोकस्थित शौर्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक एवं अध्यक्ष पवन झा मंगलबार पक्राउ परेका छन् ।

सप्तरी घर भई विराटनगर महानगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय झालाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार काम विशेषले जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेका बेला झा पक्राउ परेका हुन् ।

सहकारीको रकम हिनामिना गरेर झा लामो समयदेखि फरार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध सहकारीको रकम हिनामिनादेखि सर्वसाधारणलाई ठगी गरेको र बैंकिङ कसुरको मुद्दामा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

‘झाले विभिन्न मितिमा रकम ठगी गरेको प्रारम्भिक जानकारी आएको छ । सरकारीको रकम हिनामिना मात्रै नभएर सहकारीभन्दा बाहिरका सर्वसाधारणलाई पनि ठगी गरेको पाइएको छ । बैंकिङ कसुरमा पनि जाहेरी परेको थाहा भयो,’ मिश्रले भने । उनका अनुसार विभिन्न हिसाबले ठगीमा संलग्न रहेको आरोप लागेका झा लामो समयदेखि सम्पर्कविहीन थिए ।

प्रहरीका अनुसार झाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । विस्तृत कुरा अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झाले धेरै व्यक्तिहरूलाई ठगी गरेको भन्दै यसअघि जिल्ला प्रशासन कार्यालय मोरङमा समेत उजुरी परेको पाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.