
विराटनगर । झापाको गौरीगन्जमा दुर्घटना हुँदा मोरङ घर भएका दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज गाउँपालिका–२ कृष्ण खोलानजिक कार र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट तुलाचन चोकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । गम्भीर घाइतेमध्ये मोटरसाइकल चालक मोहमद नुर स्लामको झापाको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा २ः४० बजेतिर र पछाडि सवार एनबी मोजाबुल हकको विराटनगरको न्यूरो अस्पतालमा ३ः१० बजेतिर मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।
दुर्घटनालगत्तै प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । कार र मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छन् । मोटरसाइकलको चालकको साथमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ ।

























