
जनकपुर । जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिर परिसरबाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङकाे स्वागतका लागि पुगेका समर्थक लखेटिएका छन् ।
मन्दिर दर्शनका लागि आउन लागेका सम्पाङको स्वागतमा पुगेका समर्थकहरूलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले लखेटेका हुन् ।
सम्पाङ आउनुअघि नै मन्दिर प्राङ्गणमा स्वागतका लागि भेला भएका समर्थकविरुद्ध नाराबाजी गर्दै विवाद गरेपछि केही बेर मन्दिर परिसरमा तनाव भएकाे थियाे ।
याे घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै हर्क सम्पाङले जनकपुरमा “लफडा” भएको र आफूले सम्पर्क गर्न खोज्दा गृहमन्त्रीको फोन अफ रहेको भन्दै आक्रोश पोखेका छन् । उनले अर्को एक स्ट्याटसमा “उहिलेको कुरा र धर्मको कुरा लिएर लफडा भएको” उल्लेख गर्दै पुराना विषयलाई लिएर अहिले अवरोध पुर्याउनु दुःखद भएको बताएका छन् ।
अहिले जानकी मन्दिर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

























