
विराटनगर । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डीएसपी भीषणबाबु राईविरुद्ध हेलो सरकारमा दुईवटा छुट्टाछुट्टै उजुरी परेका छन् ।
उजुरीमा डीएसपी राईमाथि अवैध रूपमा रकम असुलेको तथा लागुऔषधको धन्दा र अन्य अवैध गतिविधिमा संलग्न व्यक्तिहरूसँग मिलेमतो गरेको आरोप लगाइएको छ । यद्यपि, यी आरोपको पुष्टि भइसकेको छैन । दुवै उजुरी असार २० गते परेका हुन् ।
एउटा उजुरी श्रम संस्कृति पार्टीको तर्फबाट दर्ता गरिएको हो भने अर्को उजुरीकर्ताको परिचय खुलाइएको छैन । दुवै उजुरीमा धरान क्षेत्रमा हुने जुवा, तास, लागुऔषध ओसारपसार तथा अन्य अवैध गतिविधिमा संलग्न व्यक्तिहरूबाट नियमित रूपमा रकम उठाउने गरिएको दाबी गरिएको छ ।
श्रम संस्कृति पार्टीले असार २० गते दिएको उजुरीमा डीएसपी राईले केही व्यक्तिमार्फत साप्ताहिक तथा मासिक रूपमा रकम संकलन गराउने गरेको आरोप लगाइएको छ । उजुरीमा जुवा, तास, अवैध धन्दा र लागुऔषध कारोबारमा संलग्न मुख्य व्यक्तिहरूलाई संरक्षण दिइएको दाबी गर्दै निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।
तर, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य सुमन श्रेष्ठले भने पार्टीका तर्फबाट डीएसपी राईविरुद्ध हेलो सरकारमा कुनै उजुरी परेको थाहा नभएको बताए । ‘उहाँ (डीएसपी राई)ले धरानमा राम्रैसँग काम गरिरहेको अनुभूति हामीले गरेका छौं । त्यसरी उजुरी नै गर्नुपर्ने कुनै विषय छ जस्तो लाग्दैन । डीएसपी राईको काम गराइ सन्तोषजनक छ,’ श्रेष्ठले भने ।
त्यस्तै, अर्को उजुरीमा केही समयअघि धरानमा बरामद गरिएको करिब ३००–४०० किलोग्राम गाँजासम्बन्धी घटनाको उल्लेख गरिएको छ । तर, उजुरीमा गाँजा कहिले बरामद गरिएको थियो र यकिन परिणाम कति हो भन्ने यकिन छैन ।
उजुरीकर्ताले उक्त गाँजाको वास्तविक मालिकलाई पक्राउ नगरिएको, बरामद गाँजालाई बेवारिसे बनाइएको तथा त्यसमा प्रहरीको मिलेमतो हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् । उजुरीमा गाँजा कारोबारमा जोडेर धनकुटाको छिन्ताङका एक व्यक्तिको नामसमेत उल्लेख गरिएको छ ।
हेलो सरकारमा उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले घटनाका बारेमा आवश्यक छानबिन र कारबाही गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनपछि प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई आवश्यक कारबाही गरी प्रगति विवरण सात दिनभित्र खुलाएर पठाउन पत्राचार गरेको छ ।
उजुरीमा उठाइएका विषयवस्तुका बारेमा छानबिन एवं अनुसन्धान अघि बढाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो । डीएसपी राईले भने आफू धरान प्रहरी प्रमुख बनेर आएपछि जुवा तास नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको बताए । लागुऔषधविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको उनको भनाइ छ ।
‘म धरान प्रहरी प्रमुख बनेर आएपछि ठूलो मात्रामा जुवा तास खेल्ने र खेलाउनेहरु धेरै जनालाई कारबाहीको दायरामा ल्याइएको छ । लागुऔषध नियन्त्रणमा उल्लेख्य प्रगति भएको छ । कानुनविपरीतका गतिविधिमा कारबाही तीव्र बनाइएपछि असन्तुष्ट रहेकाहरुले उजुरी गरेका हुन सक्छन्,’ डीएसपी राईले भने । प्रहरी ‘एक्सन’मा गएपछि अवैध धन्दा चलाइरहेका धेरै जना विरोधमा रहेको उनको दाबी छ ।
‘प्रहरीले कानुन कार्यान्वयको काम गरिरहेको छ । गलत गतिविधिविरुद्ध आक्रामक कारबाही भइरहेका छन्,’ उनले भने, ‘प्रहरीले कसैलाई नछाडेपछि धेरै जनाले रिसइबी साँधेका छन् । उनीहरुले भनेजस्तो नभएपछि प्रहरीविरुद्ध नै उजुरी गरेर असन्तुष्टि पोखिएको हुन सक्छ ।’ डीएसपी राईले आफूबाट कोही कसैसँग पनि रकम असुल्ने र गलत गतिविधि गर्नेसँग सम्झौता गर्ने काम नभएको बताए ।
सुनसरी प्रहरी प्रमुख एसपी केवशकुमार थेवेले धरानका डीएसपी राईविरुद्ध हेलो सरकारमा उजुरी परेको र कारबाहीका लागि तालुक कार्यालयबाट निर्देशन भएको कुरा आफूलाई थाहा नभएको बताए । ‘छानबिन एवं कारबाहीका लागि निर्देशन भएको रहेछ भने त्यही अनुसार प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले पनि यस विषयमा आफूलाई केही थाहा नभएको बताए । ‘डीआईजी साबको तोकबाट कारबाहीका लागि पत्रचार गरिएको हुन सक्छ । यो विषयमा मलाई थाहा भएन । के रहेछ, म बुझ्छु,’ एसएसपी थापाले भने ।
प्रहरी अधिकारीहरुको प्रतिक्रियाले भने अर्को गम्भीर आशंका जन्माएको छ । यस विषयमा थाहै नभएको प्रतिक्रिया दिएर उनीहरु पन्छिएका छन् । उनीहरुको प्रतिक्रियाबाट छानबिन तथा अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनेमा आशंका पैदा भएको हो । ‘धरानमा प्रहरीले राम्रैसँग असुली धन्दा चलाइरहेको छ । तर, डीएसपीलाई बचाउने खेल भइरहेको हुन सक्छ,’ स्रोतले भन्यो ।



















