दन्किरहेको सुनसरीप्रति सरकारको बेवास्ता : गृहमन्त्री आएनन्, प्रधानमन्त्री बोलेनन्

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ११:०८

विराटनगर । सुनसरीको देवानगन्जमा एउटा झन्डाबाट सुरु भएको विवाद साम्प्रदायिक तनावमा रूपान्तरित भयो । झडप, कर्फ्यु, बाक्लो सुरक्षाकर्मी परिचालन, सर्वसाधारण र सुरक्षाकर्मी घाइते, जनजीवन ठप्प र स्थानीयमा त्रासबीच सरकारको खोजी भयो ।

स्थानीयले सरकारका सबैभन्दा जिम्मेवार अनुहार खोजेका थिए । गृहमन्त्री स्वयं घटनास्थल पुगेर जनतालाई आश्वस्त पारून्, प्रधानमन्त्रीले राष्ट्रका नाममा धारणा सार्वजनिक गरून् र सरकारले संकट व्यवस्थापनको स्पष्ट नेतृत्व देखाओस् भन्ने स्थानीयको अपेक्षामा भने सरकारले नराम्ररी कुठाराघात गरिदिएको छ । अर्थात्, साम्प्रदायिक झडपसँगैको गोलीकाण्डपछि जताततै आगो दन्किरहेका बेला सुनसरीमा सरकारको खोजी हुँदा न गृहमन्त्री आए, न त प्रधानमन्त्रीले कुनै देशका नाममा कुनै सम्बोधन नै गरिदिए ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारकै कमजोरीले दुई दिनसम्म सुनसरीमा पूर्णरूपले तनावग्रस्त बन्न पुग्यो । प्रधानमन्त्री र गृहमन्त्री सुधन गुरुङको बेवास्ताको सिकार भने सर्वसाधारण भए । घटना भएको पाँचौं दिन भइसक्दासम्म गृहमन्त्री गुरुङ देवानगन्ज पुगेका छैनन् । न त प्रधानमन्त्रीबाट घटनाका बारेमा सार्वजनिक सम्बोधन आयो । बरु गृहमन्त्रीले आफ्ना प्रमुख स्वकीय सचिव (पीए) जेम्स कार्कीलाई पठाए । यही कारण अहिले सरकारको संकट व्यवस्थापन शैलीमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ ।

स्थानीयका अनुसार देवानगन्जमा तनाव बढ्दै जाँदा सरकारको उपस्थिति जनताले महसुस गर्न सकेनन् । गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले सर्वपक्षीय बैठकमै केन्द्रीय नेतृत्व गाउँमा आएर वास्तविक अवस्था बुझ्नुपर्ने धारणा राखे । उनले काठमाडौंमा बसेर निर्देशन दिनुभन्दा घटनास्थलमै पुगेर नागरिकसँग संवाद गर्नु आवश्यक रहेको बताए ।

‘चार दिन भइसक्यो, मन्त्रालयबाट जनताले के सुविधा पाए ? सरकारले के गर्‍यो ?’ बुधबारको बैठकमा अध्यक्ष मेहताले प्रश्न गरे । घटना भएकै समयमा आफूले प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक फोन गर्दा पनि फोन नउठाएको आरोप लगाउँदै उनले सरकारप्रति असन्तुष्टि जनाए । ‘पालिका अध्यक्षले फोन गर्दा पनि प्रमुख जिल्ला अधिकारीले फोन नउठाउने हो भने जनताले सरकारको अनुभूति कसरी गर्ने ?’ उनको प्रश्न थियो ।

देवानगन्ज–४ का वडाध्यक्ष सुशीलकुमार मेहता पनि गाउँको अवस्था सामान्य बनाउन गृहमन्त्री तथा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिको अपेक्षा रहेको बताउँछन् । उनका अनुसार संवेदनशील अवस्थामा गृहमन्त्री स्वयं नआएर पीएलाई पठाइनु स्थानीयका लागि निराशाजनक हो । ‘हुन त यो सरकारले अहिलेसम्म जनताको हितमा काम गरेको छैन । सुनसरीमा सबैतिर आगो दन्किरहँदा र जनता मरिरहँदा पनि बेवास्ता गरेर बसेको छ,’ उनले भने ।

गृहमन्त्री गुरुङ पछिल्ला दिनहरूमा सीमा नाका र विभिन्न कार्यक्रमको अनुगमनमा सक्रिय देखिए पनि देवानगन्जजस्तो संवेदनशील घटनास्थलमा उपस्थित नहुँदा सरकारको प्राथमिकतामाथि प्रश्न उठेको स्थानीयको गुनासो छ । प्रधानमन्त्री शाहले पनि घटनाका बारेमा कुनै औपचारिक सार्वजनिक सम्बोधन नगरेपछि स्थानीयमा सरकार मौन बसेको अनुभूति बढेको छ ।

यसअघि गृहमन्त्रीले अनुगमनका नाममा सीमा–सीमा डुलेर रमिता देखाएका थिए । नेपाल प्रहरीका कुकुरलाई हात चटाउँदै र त्यही कुकुर डोर्याउँदै सीमा नाका डुलेका उनी अनुगमनका नाममा होटलदेखि विभिन्न ठाउँसम्म पुग्न भ्याउँछन् । तर, साम्प्रदायिक आगोले देवानगन्जलगायत सुनसरीका बासिन्दालाई पोलिरहँदा सामान्य मलम लगाउन पनि उनले आवश्यक ठानेनन् । अर्थात्, देवानगन्जलगायत सिंगो सुनसरीले यसपटक सरकार छ भन्ने अनुभूति गर्न नपाएको गाउँपालिका अध्यक्ष मेहताको भनाइ छ ।

बरु उल्टै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापा घटना हुनसाथ आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज पुगेर आक्रोशित बनिरहेको स्थानीय माहोललाई थप उत्तेजित बनाउने भूमिका निर्वाह गरे । सुनसरीमा आगो दन्किनुमा थापाकै अभिव्यक्तिले पनि एक हिसाबले भूमिका खेलेको विश्लेषण भइरहेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट पनि देवानगन्ज घटनाका बारेमा कुनै सार्वजनिक निर्णय वा विशेष सन्देश बाहिर आएन । यसले सरकार संकट व्यवस्थापनमा सक्रियभन्दा प्रतिक्रियात्मक बनेको टिप्पणी हुन थालेको छ । सरकारले भित्रभित्रै सल्किरहेको साम्प्रदायिक आगोलाई बेवास्ता गरेर बसिरहेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

यद्यपि, गृहमन्त्रीले भने आफ्ना प्रमुख स्वकीय सचिव जेम्स कार्कीलाई देवानगन्ज पठाएर परिस्थितिको अनुगमनमा जुटाएका छन् । कार्कीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालका स्वकीय सचिव पारश क्षेत्री पनि मंगलबार बेलुका सुनसरी पुगेका थिए । उनीहरूले ड्रोनमार्फत घटनास्थलको अवलोकन गरे भने बुधबार पनि प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

बुधबार बेलुका बसेको सर्वपक्षीय बैठकमा कार्कीले गृहमन्त्रीको प्रतिनिधित्व गर्दै सरकारका तर्फबाट धारणा राखे । उनले गृहमन्त्री र प्रधानमन्त्री घटनाप्रति गम्भीर तथा चिन्तित रहेको र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको दाबी गरे । साथै, सबै पक्षबीच सहमति बने गृहमन्त्री स्वयं देवानगन्ज आउन सक्ने जानकारी पनि दिए । कार्कीले यसो भनिरहँदा सुनसरी घटनाप्रति भने सरकारको पूरै बेवास्ता प्रष्ट देखियो ।

सरकारले प्रतिनिधिमार्फत नभएर मन्त्री स्वयं नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने अडान स्थानीय नेतृत्वले दोहोर्‍यायो । अध्यक्ष मेहताले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, कप्तानगन्जस्थित मदरसाको उचित व्यवस्थापन गर्नुपर्ने तथा घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयको मागलाई गृहमन्त्रीले स्वयं आएर सम्बोधन गर्नुपर्ने बताए । कार्कीले भने सहिद घोषणा लगायतका माग कानुनी प्रक्रियाअनुसार अघि बढाउन सरकार तयार रहेको बताएका थिए ।

आइतबार रातिदेखि दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा देवानगन्ज गाउँपालिका–३ को कप्तागन्ज तनावग्रस्त बनेको थियो । सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भयो भने नौ जना घाइते भए । इन्स्पेक्टर राकेश राईसहित सुरक्षाकर्मीहरु पनि घाइते भएका थिए ।

त्यसपछि सुनसरीका विभिन्न स्थानमा झडप, आक्रमण, आगजनी, तोडफोड, प्रदर्शन र लुटपाटका घटना भए । केही स्थानको अवस्था सुरक्षा निकायको नियन्त्रणभन्दा बाहिर पनि पुग्यो । स्थानीय प्रशासनले बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरेको थियो । कतिपय ठाउँमा कर्फ्यु उल्लंघन गर्दै टायर बालेर प्रदर्शन गरियो ।

बुधबारदेखि अवस्था तुलनात्मक रूपमा शान्त बनेको छ । तर, दुवै पक्षबीचको अविश्वास पूर्ण रूपमा हटिनसकेको सुरक्षा अधिकारीहरू बताउँछन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहीबार बिहानसम्म कर्फ्यु जारी राखिएको छ । त्यसपछिको निर्णय परिस्थितिको मूल्यांकनका आधारमा गरिने प्रशासनले जनाएको छ ।

घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनाव कम गर्न राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवालाको सहभागितामा बसेको सर्वपक्षीय बैठकले पाँचबुँदे सामूहिक प्रतिबद्धता सार्वजनिक गरेको छ । बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । समाजमा अराजकता र अवाञ्छित गतिविधि फैलिन नदिन सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।

साथै, सामाजिक सञ्जालमा भ्रामक वा उत्तेजक सामग्री पोस्ट तथा सेयर नगर्न, आधिकारिक सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । अभिभावकलाई आफ्ना छोराछोरीलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झडप वा भिडमा सहभागी नहुनलाई निर्देशन दिन अनुरोध गरिएको छ । कर्फ्यु आदेश कायम रहेकाले भेला, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको छ ।

सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काका अनुसार अवस्था सुधारोन्मुख भए पनि पूर्ण रूपमा सामान्य भइसकेको छैन । अधिकारीहरुका अनुसार सुरक्षा र शान्ति कायम गर्नु सरकारको पहिलो दायित्व हो । विशेषगरी साम्प्रदायिक तनाव, हिंसा र जनधनको क्षति हुने जोखिम बढेका बेला सरकारको राजनीतिक नेतृत्व घटनास्थलमै पुगेर नागरिकलाई विश्वास दिलाउने, सुरक्षा संयन्त्रलाई स्पष्ट निर्देशन दिने, पीडितलाई राहत र न्यायको प्रत्याभूति गराउने तथा अफवाह रोक्ने जिम्मेवारी अझ महत्वपूर्ण मानिन्छ ।

देवानगन्जमा स्थानीयले यही राजनीतिक नेतृत्व खोजिरहेका थिए । तर, गृहमन्त्री स्वयं नपुग्नु, प्रधानमन्त्रीको सार्वजनिक सम्बोधन नआउनु र मन्त्रिपरिषदबाट पनि घटनालाई लिएर स्पष्ट सन्देश ननिस्कँदा सरकार संकटको नेतृत्व लिन असफल भएको भन्ने आलोचना बढेको छ ।

यद्यपि, सरकारका प्रतिनिधिले समस्या समाधानका लागि आफूहरू सक्रिय रहेको र कानुनी प्रक्रियाअनुसार सबै माग सम्बोधन गरिने बताएका छन् । तर, देवानगन्जका बासिन्दाले भने अझै पनि सरकारका शीर्ष नेतृत्वको प्रत्यक्ष उपस्थिति र स्पष्ट राजनीतिक प्रतिबद्धताको प्रतीक्षा गरिरहेको गाउँपालिका अध्यक्ष मेहता बताउँछन् ।

तपाइको प्रतिक्रिया
सुनसरी घटनालाई लिएर संसद्मा सरकारको चर्को आलोचना
कर्फ्युमा अलपत्र २८९ सवारी साधनलाई प्रहरीले गरायो स्कटिङ
सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार
ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव
रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु
कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
सुनचाँदीको मूल्य बढ्यो 
सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदी घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×