परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार २०:३६

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव घटनाको पाँच दिनपछि परिवारले बुझेका छन् । अन्त्येष्टिका लागि शव लिएर गए पनि गाउँमा फैलिएको डर, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न सकेको छैन ।

दुई समूहबीच भएको विवाद नियन्त्रण गर्न आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो । सोही घटनामा गम्भीर घाइते भएका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरको न्युरो अस्पतालमा मृत्यु भयो । शुक्रबार पोस्टमार्टम सम्पन्न भएपछि दुवै मृतकका आफन्तले शव बुझेर अन्त्येष्टिका लागि लगे ।

Advertisement

शव बुझाउने विषयमा शुक्रबार पनि केही समय अन्योल देखिएको थियो । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार रातभर चलेको वार्तापछि सरकारले पीडित पक्षसँग सात बुँदे सहमति गरे पनि केही स्थानीयले त्यसलाई तत्काल कार्यान्वयन हुने सुनिश्चितता नभएको भन्दै शव बुझाउन रोक्ने प्रयास गरेका थिए । पछि थप छलफलपछि परिवार शव बुझ्न सहमत भएको हो ।

शव परिवारलाई हस्तान्तरण गरिएपछि स्थिति केही सहज बनेको भए पनि कप्तानगन्जमा सुरक्षा व्यवस्था यथावत् कडा राखिएको छ । देवानगन्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवका अनुसार गाउँमा कर्फ्यु अझै हटाइएको छैन । प्रहरी र नेपाली सेनाको परिचालन पनि निरन्तर छ ।

उनले घटनाले वर्षौंदेखिको सामाजिक सद्भावमा गम्भीर असर परेको बताइन् । उनका अनुसार यसअघि समुदायबीच कुनै ठूलो विवाद थिएन । तर, पछिल्लो घटनाले आपसी विश्वासमा दरार ल्याएको छ । अब सम्बन्ध पुनः सामान्य बनाउन स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा र दुवै पक्षले संयमता अपनाउनुपर्ने उनको भनाइ छ ।

उपाध्यक्ष यादवले सरकारले सहमतिअनुसार राहत उपलब्ध गराउने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढेपछि वातावरण विस्तारै सहज बन्ने अपेक्षा व्यक्त गरिन् । उनका अनुसार एकपटक टुटेको सामाजिक सम्बन्ध जोड्न समय लाग्ने भएकाले सबै पक्षले सहकार्य र धैर्यता अपनाउन आवश्यक छ । परिवारले शव बुझेर लगे पनि गाउँमा भने अझै अशान्तिको छाया छ ।

सरकार र पीडित पक्षबीच भएको सात बुँदे सहमतिअनुसार मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, घटनाको निष्पक्ष छानबिन गरिने, दोषीलाई कानुनी कारबाही गरिने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था मिलाइने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गरिने उल्लेख छ ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले सहमतिपछि तनाव क्रमशः घट्दै गएको बताए । उनका अनुसार अवस्था पूर्ण रूपमा सामान्य नभएकाले कर्फ्यु कायम राखिएको छ । सुरक्षा निगरानी उच्च पारिएको छ ।

डीएसपी खड्काका अनुसार पाँच दिनदेखि जारी तनावका कारण दुवै समुदायका नागरिकमा त्रासको वातावरण छ । सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले निरन्तर गस्ती, समन्वय र आवश्यक सुरक्षा व्यवस्थापन गरिरहेको उनले बताए । प्रहरीले स्थानीयबाट आउने सूचनाको आधारमा तत्काल प्रतिक्रिया दिँदै समुदायलाई विश्वासमा लिन प्रयास गरिरहेको पनि उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.