फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण १५, शुक्रबार २०:१६

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच उत्पन्न तनावले कोशी प्रदेशको राजधानी विराटनगरका नागरिकलाई फेरि विगतको पीडादायी पलको स्मरण गराएको छ ।

एउटा स्थानीय विवादका रूपमा सुरु भएको घटना हिंसात्मक बन्दै गोलीकाण्डसम्म पुग्यो । त्यति मात्रै नभए दुई युवाको ज्यानै गयो । अरु आठ जना अस्पतालको बेडमा छटपटाइरहेका छन् । युवाहरु संयम हुन नसक्दा र आफूले आफैंलाई सम्हाल्न नसक्दा गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ को कप्तानगन्जले कहालीलाग्दो घटना बेहोर्यो ।

Advertisement

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाउनुपर्ने अवस्था आयो । गोली लागेर घाइते भएकामध्ये हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । पोस्टमार्टमपछि परिवारका सदस्यले शुक्रबार साँझ दुवै जनाको शव बुझेर अन्त्येष्टिका लागि लिएर गएका छन् । उक्त गोलीकाण्डमा स्थानीय युवा र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

त्यसपछि सुनसरीको अवस्था तनावपूर्ण बन्यो । त्यो तनाव फैलिएर अहिले मधेश प्रदेशसम्म पुगेको छ । घटनासँगै सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना, उत्तेजक अभिव्यक्ति र अफवाहका कारण सबैतिर मनोवैज्ञानिक प्रभाव पार्न थालेपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् । प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु लागू गरेको छ भने समुदायका अगुवा तथा सरोकारवालासँग संवादलाई निरन्तरता दिएको छ । यद्यपि, घटनाले निम्त्याएको त्रास र चिन्ता पूर्ण रूपमा साम्य भइसकेको छैन ।

देवानगन्जको घटनापछि विराटनगरमा भने अर्को दृश्य बारम्बार स्मरण हुन थालेको छ । त्यो हो, २०८२ साल भदौ २४ गतेको हिंसात्मक घटना । सरकारविरुद्ध भदौ २३ गते सुरु भएको जेनजी आन्दोलन भोलिपल्ट निक्कै हिंसात्मक बन्यो । पहिलो दिनको आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर विद्यार्थीहरुको मृत्यु भएपछि आन्दोलनले हिंसात्मक रुप लिएको थियो । त्यसपछि आन्दोलनको नाममा विभिन्न ठाउँमा अराजक तथा आपराधिक समूहले देशका प्रमुख प्रशासनिक केन्द्र, न्यायालय, राजनीतिक दल कार्यालय, नेताका निवास, निजी घर, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक संरचनामा आगजनी, तोडफोड र लुटपाट मच्चाएका थिए ।

त्यसको प्रत्यक्ष असर कोशी प्रदेशमा पनि परेको थियो । प्रदेश राजधानी विराटनगर सबैभन्दा बढी क्षति व्यहोर्ने सहरमध्ये एक बन्यो । राष्ट्रिय झन्डा ओढेर सडकमा उत्रिएको समूहले सरकारी कार्यालय, सार्वजनिक संरचना, निजी सम्पत्ति र व्यापारिक मलमा आगजनी तथा तोडफोड गर्यो ।

आन्दोलनका नाममा फैलिएको हिंसाले सहरलाई त्रासको छायामा धकेलिदियो । बजार बन्द भए, उद्योग व्यवसाय ठप्प बने, दैनिक ज्यालादारी गरेर परिवार पाल्ने श्रमिकको रोजगारी गुम्यो, विद्यार्थीको पढाइ प्रभावित भयो, बिरामीलाई अस्पताल पुग्न कठिनाइ भयो र सर्वसाधारणले आफ्नै सहरलाई भयको दृष्टिले हेर्नुपर्ने अवस्था सिर्जना भयो ।

त्यो घटनाले एउटा स्पष्ट सन्देश दिएको थियो— हिंसाले कसैलाई जिताउँदैन, बरु सबैभन्दा ठूलो क्षति सर्वसाधारण नागरिकले नै बेहोर्नुपर्छ । आन्दोलनको उद्देश्य जे भए पनि हिंसामा परिणत भएपछि आगोले भवन मात्र नभएर नागरिकको मन र विश्वास पनि जलायो । त्यो अराजकताले कुनै विचारधारा नभएर एम्बुलेन्स, सवारीसाधन, सार्वजनिक सम्पत्ति, उद्योग व्यवसाय र नागरिकको भविष्यलाई क्षति पुर्‍यायो ।

देवानगन्जको घटनापछि अहिले विराटनगरमा एउटै साझा आवाज सुनिन थालेको छ, ‘हामी फेरि त्यही अवस्था चाहँदैनौं ।’ सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना, अफवाह र उत्तेजक अभिव्यक्तिले समाजलाई विभाजनतर्फ धकेल्न सक्ने भएकाले सबै पक्ष संयमित हुनुपर्नेमा सरोकारवालाको जोड छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भदौ २३ र २४ का घटनाले उद्योग व्यवसाय र प्रदेशको अर्थतन्त्रमा गहिरो चोट पुर्‍याएको स्मरण गर्दै फेरि त्यस्तो अवस्था आउन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले भने, ‘विगतका घटनाले उद्योग, व्यवसाय र अर्थतन्त्रलाई जुन रूपमा क्षति पुर्‍याएको छ । त्यसबाट हामीले ठूलो पाठ सिकिसकेका छौं । फेरि पनि कुनै नाममा हुने हिंसा, तोडफोड र बन्दले कसैको हित गर्दैन । यसले सबैभन्दा पहिले उद्यमी, व्यवसायी र दैनिक मजदुरी गरी जीवन चलाउने श्रमिकको चुलोमा असर पुर्‍याउँछ ।’

अध्यक्ष राउतका अनुसार देवानगन्जको घटनाबाट सचेत हुँदै कोशी प्रदेशका कुनै पनि सहरमा सामाजिक सद्भाव र आर्थिक गतिविधिमा आँच आउने अवस्था सिर्जना हुन दिनु हुँदैन । सबै समुदाय, राजनीतिक दल र नागरिकले संयम अपनाउँदै शान्तिपूर्ण सहअस्तित्व कायम गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेशका सूचना अधिकारी डिल्लीराम लम्सालले साम्प्रदायिक तनाव वा द्वन्द्वको पहिलो सिकार नागरिक र मानवता नै हुने बताए । उनले भने, ‘साम्प्रदायिक तनाव वा द्वन्द्वको पहिलो सिकार नागरिक र मानवता नै हुने गर्दछ । सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सूचना र अफवाहले समाजलाई विभाजनतर्फ धकेलिरहेको बेला सबै नागरिक, समुदाय र राज्य संयम हुन जरुरी छ ।’ लम्सालका अनुसार विगतका घटनाबाट पाठ सिक्दै हिंसा र द्वन्द्वलाई निरुत्साहित गरी मानव अधिकार, कानुनी शासन, सहिष्णुता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नु नै दीर्घकालीन शान्तिको आधार हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले पनि सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले प्रशासन नागरिकको सुरक्षा, शान्ति र सुव्यवस्था कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि प्रकारका उत्तेजक अभिव्यक्ति, अफवाह वा कानुन हातमा लिने गतिविधि स्वीकार्य नहुने बताए ।

‘विगतका तीता अनुभवबाट सिकेर सामाजिक सद्भाव कायम गर्न जरुरी छ,’ उनले भने । प्रशासनले नागरिकलाई अफवाहको पछि नलाग्न, सामाजिक सञ्जालमा जथाभावी पोस्ट नगर्न तथा अपुष्ट र भ्रामक सूचना प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले कुनै पनि बहानामा कानुन हातमा लिनेमाथि कारबाही गरिने बताए । ‘यो वा त्यो नाममा हिंसा फैलाउन छुट छैन । अराजकता मच्चाउन खोज्नेहरुमाथि निगरानी बढाइएको छ । कानुनले कसैलाई छाड्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ,’ एसपी कटवाल भन्छन् ।

देवानगन्जको घटनाले संयम नभएमा सानो विवाद हिंसात्मक बन्न सक्छ र बेलैमा सबै सचेत हुनुपर्छ भन्ने प्रमाणित गरेको छ । साथै अफवाह, उत्तेजना र गैरजिम्मेवार अभिव्यक्ति ठूलो सामाजिक संकटमा बदलिन सक्छ भन्ने सन्देश पनि दिएको छ । त्यसैले अहिलेको आवश्यकता संयम, संवाद, कानुनी शासन र आपसी विश्वास भएको एसपी कटवाल बताउँछन् ।

पूर्वशिक्षक केशव अधिकारीका अनुसार भदौ २३ र २४ को पीडा अझै ताजा रहेको विराटनगर फेरि आगजनी, तोडफोड, बन्द र हिंसाको बाटोमा फर्किन चाहँदैन । देवानगन्जको घटनाले दिएको चेतावनीलाई समयमै बुझेर सामाजिक सद्भाव, कानुनी शासन र आपसी सम्मानको आधार अझ बलियो बनाउन सकिए मात्र विगतको जस्ता दुःखद घटना दोहोरिन नपाउने उनको भनाइ छ । ‘विराटनगर फेरि खरानी बन्न चाहँदैन । विगतको पीडाले संयम र सद्भाव माग्दैछ,’ अधिकारीले भने ।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.