
जनकपुरधाम । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट सुरु भएको सामुदायिक तनाव अन्य जिल्लामा फैलिन थालेपछि सरकारले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ ।
सम्भावित हिंसा नियन्त्रण, सामाजिक सद्भाव कायम राख्ने र थप अप्रिय घटना हुन नदिने रणनीतिअनुरुप गृहमन्त्री सुधन गुरुङदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासम्मका उच्च अधिकारीहरू तराई–मधेशका संवेदनशील क्षेत्रमा परिचालित भएका छन् । गृहमन्त्री गुरुङ बिहीबार नै सुनसरी पुगेका थिए । उनले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेट गरी पीडितलाई सहमतिमा ल्याए ।
साथै, घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए । त्यसपछि शुक्रबार दिउँसो ३ बजेतिर उनी सिरहातर्फ प्रस्थान गरे । सरकारले घटनालाई सुरक्षा चुनौतीका रूपमा मात्रै नभई सामाजिक र राजनीतिक संवेदनशीलतासँग जोडिएको विषयका रूपमा लिएर संवादलाई पनि सँगसँगै अघि बढाएको छ ।
नेपाल प्रहरीले तराई–मधेशका संवेदनशील जिल्लामा एसएसपीदेखि एआईजी तहसम्मका १५ जना उच्च अधिकृतलाई परिचालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार उनीहरूलाई जनशक्ति परिचालन, सुरक्षा रणनीति कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण, जोखिम मूल्यांकन र जिल्ला तथा प्रदेश प्रहरीसँग समन्वय गर्दै आवश्यक परे प्रत्यक्ष फिल्डमा नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।
परिचालित अधिकृतहरूमा एआईजी सिद्धीविक्रम शाह बाँके, एआईजी हिमालयकुमार श्रेष्ठ मधेश प्रदेश, एआईजी उमाप्रसाद चतुर्वेदी कपिलवस्तु तथा एआईजी ईश्वर कार्की कोशी प्रदेश र सुनसरीमा खटिएका छन् । त्यसैगरी डीआईजी दिनेशकुमार आचार्य सिरहा र डीआईजी अविनारायण काफ्ले सप्तरीमा परिचालित भएका छन् ।
त्यस्तै, एसएसपी गोपालचन्द्र भट्टराई सर्लाही, सोमेन्द्र सिंह राठौर पर्सा, दीप शम्शेर जबरा रौतहट, नवराज अधिकारी चितवन, कृष्णप्रसाद पंगेनी महोत्तरी, होबिन्द्र बोगटी बारा, ज्ञानेन्द्रप्रसाद फुयाल मोरङ, भुवनेश्वर तिवारी धनुषा तथा अमरेन्द्रबहादुर सिंह मधेश क्षेत्रमा खटिएका छन् । प्रहरीका अनुसार सुनसरी, मोरङ, सिरहा, धनुषा लगायत जिल्लामा तनाव बढ्न सक्ने आकलनपछि अतिरिक्त जनशक्ति परिचालन गरिएको हो ।
केन्द्रबाट खटिएका अधिकृतहरूले प्रदेश तथा जिल्ला प्रहरीसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछन् । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलले पनि आफ्नो सुरक्षा उपस्थिति बढाएको छ । एआईजी गणेश ठाडा मगरसहितका वरिष्ठ अधिकारीहरूलाई तराई–मधेशमा परिचालन गरिएको छ ।
छिमेकी पहाडी जिल्लाबाट समेत थप फौज झिकिएको सशस्त्र प्रहरीले जनाएको छ । भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाइएको तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग आवश्यक समन्वय भइरहेको पनि सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले सामाजिक सद्भाव बिगार्ने, धार्मिक सहिष्णुता खल्बल्याउने, हिंसात्मक तथा उत्तेजक गतिविधिमा संलग्न नहुन सबैसँग आग्रह गरेका छन् । शान्ति, सुरक्षा र सामाजिक एकता कायम राख्न सबै सुरक्षा निकाय समन्वयात्मक रूपमा परिचालित रहेको उनको भनाइ छ ।
कर्फ्यु लागू भएका केही जिल्लामा नेपाली सेना पनि परिचालन गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा सेना शान्ति सुरक्षा कायम राख्न आवश्यक जिम्मेवारी निर्वाह गरिरहेको सुरक्षा स्रोतले जनाएको छ ।
घटनापछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सक्रिय भएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर उनले सुरक्षा अवस्थाका बारेमा समीक्षा गरेका थिए । त्यसपछि राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति रामचन्द्र पोखरेलसँग भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिसँग टेलिफोन संवाद गरेका प्रधानमन्त्रीले शुक्रबार तराई–मधेशका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग पनि छलफल गरेका थिए ।
राजनीतिक तहमा पनि संवादको प्रयास तीव्र भएको छ । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठकको पहल गर्नुका साथै मधेशका आफ्ना सांसद, धार्मिक अगुवा तथा विभिन्न सरोकारवालासँग छलफल गरेका छन् । नागरिक समाज र विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा सामाजिक सद्भावका पक्षमा र्यालीसमेत निकालेका छन् ।
बिहीबारको तुलनामा शुक्रबार तराई–मधेशको अवस्था केही शान्त देखिएको सुरक्षा निकायको भनाइ छ । बिहानैदेखि सुरक्षा व्यवस्था थप कडा पारिनुका साथै संवाद र समन्वयलाई तीव्र बनाइएकाले परिस्थितिमा सुधार आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार शुक्रबार कुनै पनि स्थानमा गोली चलेको, आगजनी वा तोडफोडको घटना भएको छैन ।
कोशी प्रदेश प्रहरी प्रहरी प्रमुख डीआईजी शेखर खनालले सुनसरीसहित कोशी प्रदेशका अन्य जिल्लामा पनि अवस्था क्रमशः सामान्य बन्दै गएको बताए । उनका अनुसार प्रहरीले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न सबै प्रयास जारी राखेको छ ।
सुनसरीको देवानगन्ज–३ कप्तानगन्जबाट सुरु भएको विवाद बिहीबार मधेश प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको थियो । सिरहामा घर तथा पसलमा आगजनी हुनुका साथै १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो । त्यसपछि थप तनाव फैलिन सक्ने आकलन गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको हो ।
यसैबीच, नेपाल प्रहरीले सामाजिक सद्भाव बिथोल्ने तथा साम्प्रदायिक तनाव फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा मधेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धनुषाबाट १९, सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ र पर्साबाट १ जना पक्राउ परेका छन् । सामाजिक सद्भाव खल्बल्याउने र साम्प्रदायिक हिंसा भड्काउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीको चेतावनी छ ।

























