
सर्पदंश बन्यो घातक
विराटनगर । नेपालमा प्राकृतिक विपद् र आकस्मिक दुर्घटनाको जोखिम वर्षेनि बढ्दै गएको छ। जलवायु परिवर्तन, अनियन्त्रित सहरीकरण, वातावरणीय असन्तुलन र जनचेतनाको अभावले विपद्का घटना थप जटिल बन्दै गएका छन्। पछिल्लो साढे तीन महिनाको तथ्याङ्कले नेपाली जनजीवनमाथि विपद्ले पारेको असर निकै गम्भीर बन्दै गएको स्पष्ट देखाएको छ।
नयाँ वर्ष सुरु भएयता देशका विभिन्न भू-भागमा बाढी, पहिरो, चट्याङ, आगलागी, सर्पदंश, हावाहुरीदेखि जङ्गली जनावरको आक्रमणसम्मका हजारौँ घटना भएका छन्। यी घटनाले सयौँ परिवारलाई शोक, पीडा र विस्थापनको अवस्थामा पुर्याएका छन् भने राज्यलाई विपद् व्यवस्थापनका चुनौती अझ बढाएका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्याङ्कअनुसार वैशाख १ देखि सापन १७ गतेसम्म देशभर ४ हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा १९६ जनाले ज्यान गुमाएका छन् भने १ हजार २१८ जना घाइते भएका छन्। अझै चार जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
यस अवधिको तथ्याङ्कमा सबैभन्दा ध्यान केन्द्रित गर्नुपर्ने पक्ष सर्पदंश बनेको छ। सामान्य रूपमा लिइने सर्पको टोकाइ नै सबैभन्दा धेरै मानवीय क्षतिको कारण बनेको देखिएको छ। साढे तीन महिनामै ५४ जनाले सर्पदंशका कारण ज्यान गुमाएका छन् भने ६ सय ६८ जना प्रभावित भएका छन्।
विशेषगरी तराई र मधेस क्षेत्रमा वर्षायाम सुरु भएसँगै सर्पको जोखिम बढ्ने गरेको छ। घर वरपरको सरसफाइ, सुरक्षित बसोबास, समयमै उपचार तथा विषप्रतिरोधी औषधिको उपलब्धता अझै पनि चुनौतीका रूपमा रहेको देखिन्छ।
मनसुन सक्रिय भएसँगै चट्याङ, बाढी र पहिरोका घटनाले पनि ठूलो क्षति पुर्याएका छन्। २ सय ३१ वटा चट्याङका घटनामा २५ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्। त्यसैगरी ६ सय ८५ वटा पहिरोका घटनामा २० जनाले ज्यान गुमाएका छन्। पहिरोका कारण ५ सय ८६ परिवार प्रभावित तथा घरबारविहीन बनेका छन्। यस्तै २ सय वटा बाढीका घटनामा १४ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्।
प्राकृतिक विपद्का यी घटनाले ग्रामीण तथा पहाडी क्षेत्रका बासिन्दा सबैभन्दा बढी जोखिममा रहेको देखाउँछन्। सडक सञ्जाल, पूर्वाधार र बस्ती विस्तार गर्दा विपद् जोखिमलाई पर्याप्त ध्यान नदिँदा क्षति अझ बढ्ने गरेको सरोकारवालाहरू बताउँछन्।
गर्मी र सुक्खा मौसममा भएका १ हजार २४ वटा आगलागीका घटनामा २० जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन्। आगलागीले ठूलो परिमाणमा घर, गोठ, अन्नबाली तथा अन्य सम्पत्तिमा समेत क्षति पुर्याएको छ।
त्यस्तै ४ सय ८० वटा हावाहुरीका घटनामा १३ जनाले ज्यान गुमाएका छन् भने ६८ जना घाइते भएका छन्। हावाहुरीका कारण घर, विद्यालय, विद्युत् संरचना तथा कृषि क्षेत्रमा समेत उल्लेख्य क्षति पुगेको छ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा लेक लाग्ने समस्या पनि गम्भीर बन्दै गएको छ। यस अवधिमा लेक लागेर २२ जनाले ज्यान गुमाएका छन् भने ३६ जना बिरामी भएका छन्। पर्याप्त तयारी र स्वास्थ्य सतर्कताको अभावले पर्वतीय क्षेत्रमा यस्तो जोखिम दोहोरिने गरेको देखिन्छ।
यता जङ्गली जनावरको आक्रमण पनि ग्रामीण बस्तीका लागि ठूलो चुनौती बनेको छ। प्राधिकरणका अनुसार १८ जनाको मृत्यु भएको छ भने १ हजार २२० जना घाइते भएका छन्। वन क्षेत्रसँग जोडिएका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको पनि यस तथ्याङ्कले देखाएको छ।
यी तथ्याङ्क केवल सङ्ख्या मात्र होइनन्, प्रत्येक सङ्ख्याले एउटा परिवारको पीडा, एउटा समुदायको क्षति र एउटा जीवनको अन्त्यलाई प्रतिनिधित्व गर्छन्। धेरै पानी पर्दा, ढुङ्गा खस्दा, वन डढेलो, हिमपात तथा विस्फोटक पदार्थ पड्किँदा समेत मानिसहरूले ज्यान गुमाएका छन्। विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै सचेतना, प्रभावकारी तयारी र समन्वित व्यवस्थापनमार्फत मानवीय तथा भौतिक क्षतिलाई उल्लेख्य रूपमा घटाउन सकिने सरोकारवालाको भनाइ छ।

























