सैन्य ‘कू’ पछि पहिलो पटक आङ सान सुकी र विदेशी प्रतिनिधिबिच भेटवार्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १६:३९
सैन्य ‘कू’ पछि पहिलो पटक आङ सान सुकी र विदेशी प्रतिनिधिबिच भेटवार्ता

काठमाडौं । म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेकी छन् । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सुकीको कुनै विदेशी प्रतिनिधिसँग भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो ।

म्यानमारस्थित राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले सोमबार बिहान सुकीसँग भेट गरेका हुन् । यो भेटलाई म्यानमारको वर्तमान सैन्य सरकार र अन्तर्राष्ट्रिय समुदायबीचको संवादको एउटा महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

Advertisement

सन् २०२१ फेब्रुअरीमा सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि उनलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरिएको थियो । सोही घटनापछि म्यानमारमा तीव्र गृहयुद्ध चर्किएको छ ।

सैन्य सरकारले गराएको सीमित र नियन्त्रित निर्वाचनपछि गत अप्रिलमा सैन्य प्रमुख मिन आङ ह्लाइङले आफूलाई ‘नागरिक राष्ट्रपति’ घोषणा गरेका थिए । त्यसको केही समयपछि उनले सुकीको बाँकी सजाय घटाउँदै उनलाई जेलबाट सारेर घरमै नजरबन्दमा राख्ने निर्णय गरेका थिए ।

८१ वर्षीया सुकीमाथि लगाइएका भ्रष्टाचार र राजद्रोह जस्ता विभिन्न आरोपहरूलाई अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूहहरूले राजनीतिक उद्देश्यबाट प्रेरित र बनावटी भएको बताउँदै आएका छन् । तीन वर्षभन्दा लामो समयदेखि बाह्य संसारबाट एक्लाइएकी सुकीको यो पछिल्लो भेटले म्यानमारको राजनीतिमा केही फेरबदल आउन सक्ने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.