संयम र सद्भावले मात्र जोगिन्छ मधेशको शान्ति

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १६:००

गत साता मधेशका विभिन्न जिल्ला अशान्त बन्न पुगे। सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको विवाद र झडपले हिंसात्मक रूप लिँदा दुई जना युवकले ज्यान गुमाए। त्यसपछि सुरु भएको आन्दोलनको आँच सप्तरी, सिरहा, धनुषा, पर्सा र बारासम्म फैलियो। सिरहामा पनि थप एक युवकको ज्यान गयो। यसरी शृङ्खलाबद्ध रूपमा हिंसात्मक गतिविधिहरू बढ्दै जाँदा समग्र मधेशको जनजीवन अस्तव्यस्त बन्यो र धार्मिक-सामाजिक सद्भावमाथि गम्भीर धक्का पुग्यो।

घटना चर्किसकेपछि ढिलै भए पनि प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरे। गृहमन्त्री सुधन गुरुङ आफैँ मधेशका प्रभावित जिल्ला पुगेर पीडितहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गरे। सरकारको यो तत्परता अलि ढिलो भए पनि सकारात्मक कदम थियो, जसका कारण अहिले त्यस क्षेत्रको स्थिति बिस्तारै सामान्य र शान्त बन्दै गएको छ। यसैबीच राजनीतिक दल, धार्मिक तथा सामाजिक सङ्घ-संस्थाहरूले पनि संयम र सहिष्णुताको अपिल गर्दै निकालेका शान्ति र्यालीहरूले सामाजिक एकता पुनर्स्थापना गर्न ठूलो सहयोग पुर्‍याएका छन्।

तर स्थिति सामान्य देखिँदैमा ढुक्क भएर बस्ने छुट कसैलाई छैन। भविष्यमा यस्ता दुखद् र हिंसात्मक घटना दोहोरिन नदिन तथा शान्ति सुव्यवस्था खल्बलिन नदिन सबै पक्ष गम्भीर र जिम्मेवार बन्नु अत्यावश्यक छ।

सबैभन्दा पहिले सरकार र स्थानीय प्रशासनले कुनै पनि साम्प्रदायिक वा सामाजिक तनावको सूक्ष्म निगरानी गर्नुपर्छ। घटना हुनुअघि नै सम्भावित जोखिमको पहिचान गरी रोकथाम गर्ने शान्ति सुरक्षाको चुस्त संयन्त्र बनाउनु पर्छ। त्यसैगरी, हिंसात्मक घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई बिनापक्षपात कानुनी कारबाहीको दायरामा ल्याएर न्यायको अनुभूति गराउनुपर्छ।

सामाजिक सञ्जालमा फैलिने अफवाह र भ्रामक सूचनाले हिंसालाई झन् बढावा दिने भएकाले त्यसको रोकथाममा राज्यले सतर्कता अपनाउनुपर्छ। नागरिक तहबाट पनि सामाजिक सञ्जालमा घृणास्पद अभिव्यक्ति फैलाउने काम बन्द हुनुपर्छ। राजनीतिक दलहरूले स्थानीय स्तरमा आफ्ना कार्यकर्तालाई संयमित बनाउन र सद्भाव कायम राख्न परिचालन गर्नुपर्छ।

मधेश सधैँ विविधता, भाइचारा र सहिष्णुताको सुन्दर प्रतीक रहँदै आएको छ। कुनै पनि बहानामा हुने हिंसा र मुठभेडले कसैको हित गर्दैन। त्यसैले अहिले देखिएको शान्तिलाई दिगो बनाउन नागरिक समाज, स्थानीय बुद्धिजीवी, धार्मिक गुरुहरू र आमसर्वसाधारणले हातेमालो गर्दै सद्भावको सन्देश फैलाउनु नै आजको मुख्य आवश्यकता हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×