
विराटनगर । विभिन्न राजनीतिक अड्कलबाजी र विवादका बीच कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले नै निरन्तरता पाउने भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको शीर्ष नेताहरूको साढे पाँच घण्टा लामो बैठकपछि कार्कीकै नेतृत्वलाई निरन्तरता दिने निष्कर्ष निकालिएको हो ।
बैठकमा मुख्यमन्त्री कार्कीले तत्काल पद नछोड्ने अडान राखेपछि अर्को विकल्प नभेटिएसम्म उनकै नेतृत्वमा अघि बढ्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।
नयाँ सरकारको प्रबन्ध नभएसम्म प्रदेश सरकारको नेतृत्व कार्कीले नै सम्हाल्ने र त्यसपछि अध्यक्ष ओलीले वस्तुस्थिति बुझेर आवश्यक निर्णय लिने बताइएको छ । यस पृष्ठभूमिमा कार्की अब कति समयसम्मका लागि मुख्यमन्त्री कायम रहने भन्ने यकिन भने छैन ।
अध्यक्ष ओली, मुख्यमन्त्री कार्की, सचिव महेश बस्नेत, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारी बीचको छलफलले तत्कालका लागि सरकार परिवर्तनको चर्चामा विराम लगाउँदै कार्कीकै नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको छ ।
यसैबीच, एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले साउन ९ गतेको तीनबुँदे सहमति कार्यान्वयनका क्रममा परेको आन्तरिक ‘गाँठो’ मुख्यमन्त्री कार्कीले पार्टी अध्यक्षसँगको भेटपछि फुकाउने दाबी गरेका छन् । गुण्डुमा बोलाइएको भन्ने कुराको खण्डन गर्दै राईले अन्य कामले काठमाडौं जाँदा अध्यक्षसँग भेटघाट भएको र पार्टीको नीति, विधि अनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन् ।

























