
विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक समृद्धिका लागि निर्यातयोग्य वस्तुको पहिचान र बजार विस्तारलाई प्राथमिकता दिँदै प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना, उत्पादन अवस्था र अन्तर्राष्ट्रिय बजारसँगको पहुँचबारे अध्ययन सुरु गरेको छ।
कोशीका विभिन्न जिल्ला कृषिमा अग्रणी छन्। ठूलो परिणाममा कृषिजन्य उत्पादन हुने गरे पनि भरपर्दो बजार नहुँदा समस्या पर्ने गरेको छ। त्यही कारण उत्पादनबाट अत्यधिक लाभ लिन नसकिरहेको अवस्था छ। यही अवस्थालाई ध्यान दिंदै प्रवर्द्धनको पहल थालिएको हो।
यसका लागि कोशी प्रदेश योजना आयोगले ६० दिने कार्ययोजना पारित गरी विज्ञ टोलीलाई जिल्ला स्तरमा परिचालन गरेको छ। अन्तर्राष्ट्रिय बजारका अवरोध हटाउन र निर्यातका लागि गुणस्तर प्रमाणीकरण, ब्रान्डिङ र प्याकेजिङमा सुधार ल्याउन स्पष्ट मार्गदर्शन गर्ने उद्देश्यले यो अध्ययन सुरु गरिएको जनाइएको छ।
यस क्रममा प्रदेशका विभिन्न जिल्ला पुगेर स्थानीय उत्पादकहरूकै माझ छलफल गरी तथ्यमा आधारित योजना बनाउने रणनीति लिइएको आयोगले जनाएको छ। योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाको संयोजकत्वमा गठित कार्यदलले प्रदेशका १४ वटै जिल्लामा पुगेर स्थानीय सरोकारवाला, उत्पादक र उद्यमीहरूसँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
अध्ययनलाई ठोस र प्रभावकारी बनाउन विज्ञहरूलाई विषयगत जिम्मेवारी दिइएको छ। जसअनुसार चिया र कफी क्षेत्रको जिम्मेवारी मोहनकुमार सुवेदी र आयोग सदस्य नारायणप्रसाद रिसाललाई दिइएको छ। अलैँची, अदुवा र बेसार जस्ता नगदे बालीको अध्ययनमा उद्योगी राजेन्द्र राउत र कृषि विज्ञ पशुपति ढुङ्गानालाई चयन गरिएको छ।
त्यसैगरी, जडीबुटी र हस्तकलाका क्षेत्रमा पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा र आयोग सचिव विष्णुप्रसाद कोइराला छन् भने, दुग्धजन्य र मासुजन्य उत्पादनबारे अध्ययन टोलीमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव पशुपति ढुङ्गाना र आर्थिक मामिला मन्त्रालयका सचिव कोशहरि निरौला तथा औद्योगिक उत्पादनतर्फ राजेश्वर ज्ञवाली सहभागी छन् ।
साउन दोस्रो साता सुरु भएको यो अध्ययन असोज मसान्तभित्र सक्ने लक्ष्य राखिएको छ। कार्यतालिकाअनुसार भदौ १ देखि २० गतेसम्म १४ वटै जिल्लामा पुगेर जिल्ला स्तरीय परामर्श गरिनेछ। भदौ अन्तिम साता सङ्घीय निकाय र प्रदेश राजधानीमा उच्चस्तरीय अन्तरक्रिया गरिनेछ भने असोज पहिलो साता मस्यौदा तयार पारेर सङ्घीय विज्ञहरूसँग छलफल गर्ने योजना छ।
विशेषगरी चिया, अलैँची, कफी, अदुवा, रुद्राक्ष, अम्रिसो र जडीबुटीलाई प्रमुख निर्यातजन्य वस्तुको सूचीमा राखिएको छ। यसबाहेक कृषि उपज, हस्तकला, खानीजन्य वस्तु र सेवा क्षेत्रलाई समेत वैदेशिक मुद्रा आर्जनको स्रोतका रूपमा विकास गर्न मसिनो गरी अध्ययन गरिने उपाध्यक्ष निरौलाले बताए।
अध्ययनको मुख्य उद्देश्य कोशीका उत्पादनलाई भारत, बङ्गलादेश, भुटान र चीनसहितका छिमेकी मुलुकका बजारसम्म सहज रूपमा पुर्याउनु रहेको छ। यस अध्ययनबाट प्राप्त हुने मार्गदर्शनका आधारमा बन्ने ५ देखि १० वर्षे स्पष्ट कार्ययोजनाले स्थानीय किसानलाई उचित मूल्य दिलाउन, व्यापार घाटा कम गर्न र प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।

























