
इलाम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन्। इलामको फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको भन्दै आक्रोश व्यक्त गरे।
‘चिया मगाएर खाँदैमा र गफ गर्दैमा अध्यक्ष हट्छ? कहिले हो हटाउने, हटाइदेऊ न त,’ अध्यक्ष ओलीले चुनौती दिँदै भने, ‘ख्याल-ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन्। के मजाक हो यस्तो?”‘
आफूलाई अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाउनेहरूप्रति रोष प्रकट गर्दै उनले अध्यक्ष हटाउने कुरा गर्ने व्यक्ति पार्टीको साधारण सदस्य छ कि छैन भनेर प्रश्न गरे। यस्ता अभियानको पछाडि कुनै दम नभएको र यो न त पार्टीको तरिका, न त विधानसम्मत नै रहेको उनको भनाइ छ।
विरोधी शक्तिहरूले पार्टीमाथि तीव्र प्रहार गरिरहेका बेला सिंगो एमाले एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिँदै उनले यतिबेला पार्टीभित्र अध्यक्ष हटाउने कुरा गर्नु बेकार रहेको बताए। पार्टीमा जुनसुकै काम गर्नका लागि विधि, विधान र समय हुने ओलीले स्पष्ट पारे।
ओलीले सरकारले देश र जनताको हितमा काम गर्न नसकेको दाबी गरे। ‘एमालेले समृद्ध नेपाल, सुखी नेपाली किन भनेको भने सुखी, सुरक्षित हुनुपर्छ । सम्मानित र अधिकारसम्पन्न जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न खोजिएको हो,’ उनले भने।
जनतामा भ्रम छरेर र देशमा आतंक मच्चाएर अहिलेको सरकार गठन भएको आरोप ओलीले लगाए। ‘अहिले जनताले सरकारको नाडी छामिसकेका छन्,’ उनले भने, ‘बच्चालाई खाना बनाउन लगाउँदा तरकारी कसरी काट्ने भन्ने थाहा हुँदैन। कहिले ननाचेको मान्छेलाई नाच्न लगाउँदा पार काट्दैन। नाच डान्सरकै राम्रो हुन्छ,’ ओलीले भने, ‘उरन्ठेउलाहरूले देशलाई अधोगतिको दिशामा लगे। उनीहरूलाई देश चलाउन आउँदैन। जलाउन आउँछ। जसले जे जानेको छ, त्यही गर्ने हो।’
अध्यक्ष ओलीले युवालाई जिम्मेवार, सुशील र अध्ययनशील बनाउनुपर्ने बताए। केही अपराधीका गतिविधिलाई ‘जेनजी’ पुस्तासँग जोडेर गरिएको ‘विध्वंस’ अराजकता भएको उनको टिप्पणी छ। उनले लोकतन्त्रको दुरुपयोग गर्न नहुने भन्दै युवामाथि एमालेको विश्वास रहेको बताए। पुस्ताबीचको अन्तरलाई लिएर समाजमा फाटो ल्याउने प्रयास भइरहेको उनको भनाइ थियो।

























