प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङतर्फ, सुरक्षा निकायलाई नै छैन जानकारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १२:५७
 प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङतर्फ, सुरक्षा निकायलाई नै छैन जानकारी फाेटाे फायल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार सडकमार्ग हुँदै काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन् । मुस्ताङ जाने सिलसिलामा प्रधानमन्त्री शाह पोखरा प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री सवार गाडी अहिले धादिङ पुगिसकेको जानकारी प्राप्त भएको छ । उनी पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहे पनि यसबारे सुरक्षा निकायलाई भने कुनै औपचारिक जानकारी गराइएको छैन । प्रधानमन्त्री जस्तो विशिष्ट व्यक्तिको भ्रमण र सुरक्षा संवेदनशीलताका बाबजुद सुरक्षा संयन्त्रलाई पूर्व जानकारी नदिई उनी सडक मार्गबाट निस्किएका हुन् ।

Advertisement

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्य र कार्यक्रमबारे उनको सचिवालयले समेत स्पष्ट पार्न चाहेको छैन । सचिवालयलाई यसबारे जिज्ञासा राख्दा भ्रमणको विषयमा कुनै कुरा खुलाउन नसकिने जवाफ दिएको छ ।

प्रधानमन्त्री शाह मुस्ताङतर्फ लागेकै दिन शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दै छ । पार्टीको महत्वपूर्ण बैठकमा पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह भने अनुपस्थित हुने भएका छन् । पार्टीको आन्तरिक रणनीति तय गर्न बस्न लागेको बैठकको दिन नै प्रधानमन्त्री उपत्यका बाहिर जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शाह शुक्रबार बेलुका पोखरा पुग्नेछन् । उनी आज रातको समयमा पोखरा नजिकै रहेको अन्नपूर्ण गाउँपालिकास्थित एक रिसोर्टमा बस्ने तयारी छ । त्यहाँबाट भोलि उनी मुस्ताङतर्फ लाग्ने बुझिएको छ ।

प्रधानमन्त्रीको यो ‘गोप्य’ भनिएको भ्रमण र आफ्नै पार्टीको बैठकमा देखाएको अनुपस्थितिले राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×