
काठमाडौं । नेपाली कांग्रेसका विदेशस्थित जनसम्पर्क समितिमा नेतृत्व परिवर्तनको क्रम तीव्र भएको छ । पार्टीको विशेष महाधिवेशनको तयारी र केन्द्रीय नेतृत्व परिवर्तनपछि विभिन्न देशमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
हालसम्म कुवेत, नर्वे, बहराइन, ओमान, साउदी अरेबिया, यूएई, मलेसिया, अमेरिका, जापान, भारत, बेल्जियम, फ्रान्स, दक्षिण कोरिया र नेदरल्यान्डमा जनसम्पर्क समितिका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनबाट कुवेतमा केशर घलान, नर्वेमा पारसमणि मिश्र, बहराइनमा शेरबहादुर रावत, ओमानमा सञ्जयकुमार साह, साउदी अरेबियामा तुसनबहादुर थापा, यूएईमा भुवानीप्रसाद तिमिल्सिना र मलेसियामा चोलाकान्त पंगेनी सभापति चयन भएका छन् ।
त्यस्तै जापानमा राजेन्द्रकुमार जमरकट्टेल, दक्षिण कोरियामा भजिन्द्र क्षेत्री, नेदरल्यान्डमा जितेन्द्रकुमार श्रेष्ठ, बेल्जियममा देवेन्द्र शर्मा (देबु), फ्रान्स र भारतमा शिवराम भण्डारी तथा अमेरिकामा मुनिन्द्र नेम्बाङ नेतृत्वमा आएका छन् । हङकङमा शैलेन्द्रसिंह बोगटीको नेतृत्वमा नयाँ समिति बनेको छ ।
कांग्रेसका विदेशस्थित संगठनअन्तर्गत ३७ देशमा जनसम्पर्क समिति रहेका छन् ।

























