
काठमाडौं । नेपालमा पछिल्लो समय देखिएका विनाशकारी बाढी र पहिरोले हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक जोखिमलाई फेरि सतहमा ल्याएको छ ।
हिमनदी पग्लिने क्रम तीव्र हुनु, हिमतालको विस्तार, हिमपहिरो तथा चट्टानी पहिरोका कारण हिमाली नदीमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम बढेको छ । नेपाल र चीनको सीमा क्षेत्र नजिकै दुई नदीको संगममा ठूलो प्राकृतिक बाँधसहितको जलाशय बनेपछि चीनको जलस्रोत मन्त्रालयले त्यसबाट जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।
मन्त्रालयका अनुसार उक्त जलाशयमा ठूलो मात्रामा पानी जम्मा भइसकेको छ । आगामी दिनमा पानीको मात्रा अझ बढ्न सक्ने अनुमान गरिएको छ । प्राकृतिक बाँध कमजोर भएर फुटेमा अचानक ठूलो बाढी आउन सक्ने भएकाले चिनियाँ पक्षले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
नेपालका लागि यस्तो जोखिम नयाँ भने होइन । विगतमा नारे, नाग्मा पोखरी, दिग छ्यो र ताम पोखरीजस्ता हिमताल तथा हिमाली जलाधारसँग सम्बन्धित घटनाले ठूलो क्षति पुर्याइसकेका छन् । सन् १९८१ मा तिब्बततर्फको हिमताल फुट्दा त्यसको प्रभाव नेपालसम्म परेको थियो भने सन् १९८५ को दिग छ्यो हिमताल विस्फोटले दुधकोशी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।
हिमताल फुट्नु मात्र हिमाली बाढीको कारण होइन । हिमपहिरो, चट्टान खस्नु, अत्यधिक वर्षा तथा कमजोर प्राकृतिक बाँधका कारण पनि छोटो समयमा ठूलो परिमाणमा पानी र लेदो तलतिर बग्न सक्छ । यस्तो बाढीले नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा गम्भीर क्षति पुर्याउन सक्छ । नेपालको पछिल्लो घटना यसको उदाहरण हो ।
जलवायु परिवर्तनले जोखिमलाई थप जटिल बनाएको छ । हिमनदीको बरफ तीव्र रूपमा घट्दा नयाँ हिमताल बन्ने तथा पुराना हिमताल विस्तार हुने क्रम बढेको छ । त्यसैले अहिलेको जोखिमलाई ‘हिमताल फुट्ने खतरा’का रूपमा मात्र हेर्न पर्याप्त नहुने विज्ञहरूको बुझाइ छ । हिमनदी, हिमताल, पहिरो र नदी प्रणालीलाई एउटै प्राकृतिक जोखिमका रूपमा अध्ययन गर्नुपर्ने अवस्था आएको छ ।
नेपालले उच्च जोखिममा रहेका हिमतालको नियमित निगरानी, जलस्तर मापन, उपग्रह तथा ड्रोनबाट सर्वेक्षण र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती तथा पूर्वाधारको सुरक्षा योजना पनि त्यसैअनुसार बनाउनुपर्ने देखिन्छ ।
इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम कम गरिएको अनुभवले वैज्ञानिक अध्ययन र पूर्वतयारीबाट सम्भावित क्षति घटाउन सकिने देखाइसकेको छ । तर, हिमाली जोखिम सीमापार हुने भएकाले नेपालले चीन, भारत, भुटानलगायत हिमाली मुलुकसँग वास्तविक समयको मौसम, हिमताल र नदीको तथ्यांक आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
हिमालमा हुने परिवर्तनको असर हिमालमै सीमित रहँदैन । त्यहाँबाट सुरु हुने बाढी र पहिरो नदी हुँदै तल्लो बस्ती तथा पूर्वाधारसम्म पुग्छ । त्यसैले हिमाली विपत्तिको जोखिम घटाउन तत्कालीन उद्धार तयारीसँगै दीर्घकालीन वैज्ञानिक निगरानी, पूर्वसूचना र सुरक्षित विकास नीति आवश्यक देखिएको विज्ञहरु बताउँछन् ।



















