
खोटाङ । भोटेकोशीमा आएको बाढीपछि नेपाली सेनाका लेसनायकसहित खोटाङका आठ जना सम्पर्कविहीन भएका छन् । रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेकोशीमा आएको बाढीपछि खोटाङका आठ सम्पर्कविहीन भएका हुन् ।
नेपाली सेनाका लेसनायक पवन खत्री (दाहाल) सहित विभिन्न पेसा व्यवसायको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा रहेका आठ जना खोटाङ्गेली सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी सेनाका लेसनायक ३२ वर्षीय खत्री, सोही स्थानका २७ वर्षीय सुर्जबहादुर परियार, मझुवागढीका–१५ विजयखर्कका ४३ वर्षीय कविन राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ४१ वर्षीय बालकुमार तामाङ, वडा ३ ऐसेलुखर्कका ५३ वर्षीय युवराज राई र ३३ वर्षीय यसबहादुर राई, ऐसेलुखर्क–७ माक्पाका ६० वर्षीय तारानाथ थापा र उमेर नखुलेका रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका पुष्प भट्टराई सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए ।
विभिन्न पेसा व्यवसायको सिलसिलामा रसुवा र नुवाकोटमा रहेको अवस्थामा भोटेकोशीमा बाढी आएपछि उनीहरू परिवारबाट सम्पर्कविहीन भएको जानकारी आफन्तबाट प्राप्त भएको बस्नेतले बताए । दाहाल नेपाली सेनाको विष्णु दल गणको मैलुई आर्मी पोस्ट रसुवामा कार्यरत रहेको बस्नेतले जानकारी दिए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय खोटाङले बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई सम्पर्क गरेर उहाँहरूको अवस्था यकिन गर्न सूचना प्रकाशन गरी सम्बन्धित निकाय तथा आफन्तलाई आग्रह गरेको छ ।
प्रशासनका प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले जारी गरेको सूचनामा सम्पर्कविहीन व्यक्तिको बारेमा प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरेको छ ।

























