
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै अवस्थामा मृतकको संख्या थपिने क्रम जारी छ ।
प्रहरीका अनुसार बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारका क्रममा हालसम्म ३५९ जनाको शव फेला परेको हो । प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्यलाई पनि निरन्तरता दिइएको छ ।
यसैबीच, काठमाडौंका विभिन्न अस्पतालमा बाढी तथा विपद्सँग सम्बन्धित ६३ जना उपचाररत रहेका छन् । उनीहरूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्रान्डी अस्पताल, मनमोहन मेमोरियल अस्पताल, नर्भिक अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, ग्रिन सिटी अस्पताल, मनमोहन अस्पताल र वीरेन्द्र सैनिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरीको विवरणअनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३१ जना, ग्रान्डी अस्पतालमा १ जना, मनमोहन शुभम अस्पतालमा १ जना, नर्भिक अस्पतालमा २ जना, वीर अस्पतालमा २ जना, ट्रमा सेन्टरमा २२ जना, ग्रिन सिटी अस्पतालमा १ जना, मनमोहन अस्पतालमा २ जना र वीरेन्द्र सैनिक अस्पतालमा १ जना उपचाररत छन् ।
बाढीपछि उद्धार, खोजी तथा प्रभावित क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । हालसम्म ४ हजार ३ सय ४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी अविनारायण काफ्लेले बताए ।
विपद्को क्रममा २८ जना प्रहरी कर्मचारी भने हालसम्म सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी तथा अवस्थाका बारेमा जानकारी लिन प्रहरी टोली परिचालन गरिएको छ ।
डीआईजी काफ्लेले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार, खोजी, घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्याउने तथा प्रभावित नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय भइरहेको बताए । सम्पर्कविहीन व्यक्ति र प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
























