
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बाढीपहिरो प्रभावित नुवाकोटको स्थलगत निरीक्षणपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले नुवाकोट पुगेर प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएकाहरूसँग प्रत्यक्ष जानकारी लिएको बताएका हुन्।
उनले बाढीपहिरो प्रभावित क्षेत्रमा अवस्था अझै चुनौतीपूर्ण रहेको भन्दै सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन्। जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन्।
हवाई तथा स्थलमार्गबाट उद्धार जारी रहेको र बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको प्रधानमन्त्रीले बताएका छन्। उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी रहेको उनले बताएका छन्। करिब ३ हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ।
तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत राहत सामग्री १० ट्रक पठाइएको तथा थप खाद्य र गैरखाद्य सामग्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको उनले बताएका छन्।
प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी तथा आधारभूत सेवाको व्यवस्था गरिएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्था पनि उद्धार तथा राहतमा परिचालित भएका छन्। रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्रीको भनाइ छ।
स्वास्थ्यतर्फ स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय पारिएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा १००–१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयारी अवस्थामा राखिएको उनले बताएका छन्। आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको छ।
प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। ट्रमा सेन्टर, वीर अस्पताललगायतका अस्पतालबाट मेडिकल टोली आवश्यक औषधि तथा उपकरणसहित परिचालन गरिएको र धुलिखेल अस्पताललगायत स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको उनले उल्लेख गरेका छन्।
त्यस्तै, प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति व्यवस्थित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री संकलन गरी आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाइएको छ।
जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा उद्धारमा प्रयोग हुने उपकरण प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट पठाउने काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्। फिल्ड अस्पताल सेटसमेत त्रिशूलीतर्फ पठाइएको उनले जानकारी दिएका छन्।
दूरसञ्चार सेवा पुनःस्थापनालाई पनि आपत्कालीन प्राथमिकतामा राखिएको छ। प्रधानमन्त्रीका अनुसार नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन्। प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ।
प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको पनि प्रधानमन्त्रीले बताएका छन्। नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा उपलब्ध गराएको र एनसेलले पनि निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा दिएको उनले उल्लेख गरेका छन्।
सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल पुनःसञ्चालन गर्न सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई जनशक्ति, उपकरण र स्रोत परिचालन गरी क्षतिको मूल्यांकन तथा पुनःस्थापनाको काम तीव्र बनाउन निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन पनि आवश्यक व्यवस्था गरिएको छ। नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा थप १५ हजार लिटर डिजल र १५ हजार लिटर पेट्रोल पठाइएको उनले बताएका छन्। हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको छ।
प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको प्रधानमन्त्रीले बताएका छन्। फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई थप लक्षित बनाउने काम भइरहेको उनको भनाइ छ।
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उनले बताएका छन्।
मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनको काम व्यवस्थित रूपमा अघि बढाइएको पनि प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको उनले बताएका छन्। भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, ईयू, विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबास र क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित रहेको बताएका छन्।
‘हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ,’ उनले भनेका छन्, ‘उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्।’



















