
काठमाडौं । पछिल्लो एक दशक नेपालका लागि प्राकृतिक तथा गैरप्राकृतिक विपद्का दृष्टिले निकै कठिन रह्यो । भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी, डढेलो, मानव–वन्यजन्तु द्वन्द्वदेखि महामारीसम्मका घटनाले ठूलो मानवीय र आर्थिक क्षति पुर्याए ।
गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २०७२ वैशाखदेखि २०८१ चैतसम्म नेपालभर ४२ हजार ८७२ वटा विपद्का घटना अभिलेख भएका छन् । ती घटनामा १४ हजार ४२ जनाको मृत्यु भएको छ भने ६१० जना अझै बेपत्ता छन् । विपद्मा ३६ हजार ९९१ जना घाइते भएका छन् ।
यो अवधिमा ८ लाख २४ हजार ६८१ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३ लाख ७९ हजार ३०५ घरमा आंशिक क्षति पुगेको छ । यसले विपद्को असर मानवीय क्षतिमा सीमित नभई परिवार, बस्ती, पूर्वाधार र अर्थतन्त्रसम्म फैलिएको देखाउँछ ।
नेपालले यस अवधिमा भोगेको सबैभन्दा ठूलो विपद् २०७२ वैशाख १२ को गोरखा भूकम्प हो । ७.८ म्याग्निच्युडको उक्त भूकम्प र त्यसपछिका पराकम्पका कारण ९ हजारभन्दा बढी मानिसको मृत्यु भयो भने २२ हजार ३०२ जना घाइते भए । निजी आवाससहित विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र सरकारी भवनमा ठूलो क्षति पुग्यो । राष्ट्रिय योजना आयोगको उत्थानशील आवश्यकता आकलनअनुसार भूकम्पबाट मात्रै ७ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।
भूकम्पको जोखिमसँगै पछिल्लो दशकमा बाढी र पहिरो पनि ठूलो जनधनको क्षतिको प्रमुख कारण बने । पछिल्लो समय भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो संकट निम्त्याएको छ । विनाशकारी बाढीमा परेर हालसम्म आठ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौं सर्वसाधारण बेपत्ता छन् ।
दश वर्षमा ३ हजार ९०० वटा पहिरोका घटना दर्ता भएका छन् । पहिरोमा १ हजार ५०८ जनाको मृत्यु, २२१ जना बेपत्ता र १ हजार ३०४ जना घाइते भएका छन् । पहिरोले ५ हजार ५४९ घर पूर्ण रूपमा र ७ हजार ३३८ घर आंशिक रूपमा क्षति पुर्याएको छ ।
बाढीका १ हजार ७५२ घटनामा १ हजार ५८२ जनाको मृत्यु भएको छ । २३६ जना बेपत्ता र २०२ जना घाइते भएका छन् । बाढीका कारण २ हजार १९३ घर पूर्ण रूपमा तथा १९ हजार ८४२ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट मात्रै २ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति भएको तथ्यांक छ ।
तर, घटनाको संख्याका आधारमा हेर्दा आगलागी सबैभन्दा ठूलो समस्या देखिएको छ । एक दशकमा २५ हजार ७१९ वटा आगलागीका घटना भएका छन् । ती घटनामा ८३५ जनाको मृत्यु र २ हजार ४४३ जना घाइते भएका छन् । आगलागीबाट ३४ हजार ९५२ परिवार प्रभावित भएका छन् भने ४ हजार ७१० घर पूर्ण रूपमा नष्ट भएका छन् । थप १२ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ ।
आगलागीका कारण १० हजार ३०६ पशुचौपायासमेत मरेका छन् । यसबाट २३ अर्ब ८६ करोड ९७ लाख ४२ हजार १० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । भूकम्पपछि विपद्का कारण भएको ठूलो आर्थिक क्षति आगलागीबाट भएको देखिन्छ ।
चट्याङ पनि नेपालमा ज्यान जाने प्रमुख विपद्मध्ये एक बनेको छ । एक दशकमा चट्याङका २ हजार ६२५ घटना भएका छन् । यसबाट ७९१ जनाको मृत्यु र २ हजार ६७३ जना घाइते भएका छन् । मकवानपुर, मोरङ, उदयपुर र झापा चट्याङबाट बढी प्रभावित जिल्लाका रूपमा देखिएका छन् ।
यसैगरी १ हजार २५६ वटा हावाहुरीका घटनामा १०२ जनाको मृत्यु र १ हजार ५३९ जना घाइते भएका छन् । हावाहुरीबाट ४८ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
वन क्षेत्रमा हुने डढेलोका १ हजार ९७८ घटना दर्ता भएका छन् । डढेलोमा परी ३० जनाको मृत्यु र ५२ जना घाइते भएका छन् । ३ हजार ८२१ परिवार प्रभावित भएका छन् भने ३३९ घर पूर्ण रूपमा जलेका छन् । डढेलोबाट १२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
प्राकृतिक विपद्का अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्वले पनि ठूलो मानवीय क्षति गराएको छ । एक दशकमा यस्ता २ हजार १४९ घटना भएका छन् । ती घटनामा २८४ जनाको मृत्यु, एक जना बेपत्ता र १ हजार ४२४ जना घाइते भएका छन् । जंगली हात्तीको आक्रमणबाट मात्रै ११५ घर पूर्ण रूपमा नष्ट भएका छन् ।
यस अवधिमा नेपालले केही असाधारण विपद्का घटना पनि भोग्यो । २०७५ चैत १७ गते बारा र पर्सामा आएको शक्तिशाली चक्रवातमा २७ जनाको मृत्यु र ६१३ जना घाइते भए । नेपालमा पहिलो पटक पुष्टि भएको उक्त घटनाबाट ६६९ घर प्रभावित भएका थिए ।
२०७७ साउनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोले ३७ जनाको ज्यान लियो भने दुई जना बेपत्ता भए । त्यसैगरी २०७८ असारमा मेलम्ची र इन्द्रावती नदीमा आएको गेग्रानसहितको बाढीले ठूलो क्षति पुर्यायो । मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स, पुल तथा अन्य संरचना बगाउँदा अर्बौँ रुपैयाँको क्षति भयो ।
२०७८ कात्तिकमा परेको बेमौसमी वर्षाले पनि देशका विभिन्न भागमा बाढी र पहिरो निम्त्यायो । त्यस घटनामा ११८ जनाको मृत्यु र ३० जना बेपत्ता भए । धान भित्र्याउने समयमा आएको विपद्का कारण किसानले ठूलो कृषि क्षति व्यहोर्नुपर्यो ।
२०८१ सालमा चितवनको सिमलतालमा भएको दुर्घटना पनि विपद्को अर्को दुःखद घटना बन्यो । असार २८ गते लेदोसहितको पहिरोले दुई बस त्रिशूली नदीमा खसाल्दा ५१ यात्रु बेपत्ता तथा मृत्युको शिकार बने । तीन जनाले भने तैरिएर ज्यान जोगाएका थिए ।
त्यही वर्ष सोलुखुम्बुको थामे क्षेत्रमा हिमताल विस्फोटपछि आएको बाढीले बस्ती तथा संरचनामा ठूलो क्षति पुर्यायो । थामे बजारका घर, विद्यालय र स्वास्थ्य संस्थासमेत बाढीले बगायो ।
२०८१ असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरो पछिल्लो दशककै अर्को ठूलो विपद् बन्यो । देशभर भएको उक्त विपद्मा २४९ जनाको मृत्यु, १८ जना बेपत्ता र १७७ जना घाइते भए । निजी आवास, सडक, पुल, जलविद्युत् तथा कृषि क्षेत्रमा गरी ४६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणको तथ्यांक छ ।
नेपालको विपद् इतिहास भूकम्प र बाढीपहिरोमा मात्र सीमित छैन । विगतमा १९९० सालको महाभूकम्प, २०५० सालको कुलेखानी क्षेत्रको बाढीपहिरो, २०६५ सालको कोशी बाढी, २०७१ सालको जुरे पहिरोलगायतका घटनाले पनि ठूलो जनधनको क्षति गराएका थिए । २०७१ सालको जुरे पहिरोले सुनकोशी नदी थुन्दा १५६ जनाको मृत्यु भएको थियो भने २०५० सालको बाढीपहिरोमा १ हजार ३३६ जनाले ज्यान गुमाएका थिए ।
यसबीच २०७९ डोटी, २०८० बझाङ र जाजरकोटमा भएका भूकम्पले पनि भूकम्पीय जोखिम निरन्तर कायम रहेको देखाएका छन् । जाजरकोटको ६.४ म्याग्निच्युडको भूकम्पमा मात्रै १५४ जनाको मृत्यु भएको थियो ।
विपद्का घटनामा महामारीसमेत जोडिन्छ । २०७६ पुसदेखि फैलिएको कोभिड–१९ महामारीका कारण २०७९ चैतसम्म नेपालमा १२ हजार ३१ जनाको मृत्यु भएको तथ्यांक छ । महामारीले स्वास्थ्य क्षेत्रसँगै सामाजिक तथा आर्थिक गतिविधिमा समेत गम्भीर असर पारेको थियो ।
विपद्का तथ्यांकले नेपालमा विपद् व्यवस्थापन घटना भएपछि उद्धार र राहतमा सीमित राखेर पुग्ने अवस्था नरहेको देखाउँछ । भूकम्पीय जोखिम, मनसुनजन्य बाढीपहिरो, डढेलो, आगलागी तथा जलवायुजन्य जोखिम बढ्दै जाँदा पूर्वतयारी, जोखिम न्यूनीकरण, सुरक्षित पूर्वाधार निर्माण र प्रभावकारी पूर्वसूचना प्रणालीमा थप लगानी आवश्यक देखिएको छ ।
एक दशकमा ४२ हजारभन्दा बढी विपद्का घटना र १४ हजारभन्दा बढी मानवीय क्षतिले नेपालका लागि विपद् व्यवस्थापन अझै ठूलो चुनौती रहेको स्पष्ट पार्छ । विगतका घटनाबाट पाठ सिकेर जोखिम घटाउने तयारी नगर्ने हो भने आगामी दिनमा विपद्का घटना र त्यसबाट हुने क्षति अझ गम्भीर बन्न सक्ने जोखिम कायमै छ ।

























