विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १८:३८

काठमाडौं । पछिल्लो एक दशक नेपालका लागि प्राकृतिक तथा गैरप्राकृतिक विपद्का दृष्टिले निकै कठिन रह्यो । भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी, डढेलो, मानव–वन्यजन्तु द्वन्द्वदेखि महामारीसम्मका घटनाले ठूलो मानवीय र आर्थिक क्षति पुर्‍याए ।

गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २०७२ वैशाखदेखि २०८१ चैतसम्म नेपालभर ४२ हजार ८७२ वटा विपद्का घटना अभिलेख भएका छन् । ती घटनामा १४ हजार ४२ जनाको मृत्यु भएको छ भने ६१० जना अझै बेपत्ता छन् । विपद्मा ३६ हजार ९९१ जना घाइते भएका छन् ।

Advertisement

यो अवधिमा ८ लाख २४ हजार ६८१ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३ लाख ७९ हजार ३०५ घरमा आंशिक क्षति पुगेको छ । यसले विपद्को असर मानवीय क्षतिमा सीमित नभई परिवार, बस्ती, पूर्वाधार र अर्थतन्त्रसम्म फैलिएको देखाउँछ ।

नेपालले यस अवधिमा भोगेको सबैभन्दा ठूलो विपद् २०७२ वैशाख १२ को गोरखा भूकम्प हो । ७.८ म्याग्निच्युडको उक्त भूकम्प र त्यसपछिका पराकम्पका कारण ९ हजारभन्दा बढी मानिसको मृत्यु भयो भने २२ हजार ३०२ जना घाइते भए । निजी आवाससहित विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र सरकारी भवनमा ठूलो क्षति पुग्यो । राष्ट्रिय योजना आयोगको उत्थानशील आवश्यकता आकलनअनुसार भूकम्पबाट मात्रै ७ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।

भूकम्पको जोखिमसँगै पछिल्लो दशकमा बाढी र पहिरो पनि ठूलो जनधनको क्षतिको प्रमुख कारण बने । पछिल्लो समय भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो संकट निम्त्याएको छ । विनाशकारी बाढीमा परेर हालसम्म आठ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौं सर्वसाधारण बेपत्ता छन् ।

दश वर्षमा ३ हजार ९०० वटा पहिरोका घटना दर्ता भएका छन् । पहिरोमा १ हजार ५०८ जनाको मृत्यु, २२१ जना बेपत्ता र १ हजार ३०४ जना घाइते भएका छन् । पहिरोले ५ हजार ५४९ घर पूर्ण रूपमा र ७ हजार ३३८ घर आंशिक रूपमा क्षति पुर्‍याएको छ ।

बाढीका १ हजार ७५२ घटनामा १ हजार ५८२ जनाको मृत्यु भएको छ । २३६ जना बेपत्ता र २०२ जना घाइते भएका छन् । बाढीका कारण २ हजार १९३ घर पूर्ण रूपमा तथा १९ हजार ८४२ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट मात्रै २ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति भएको तथ्यांक छ ।

तर, घटनाको संख्याका आधारमा हेर्दा आगलागी सबैभन्दा ठूलो समस्या देखिएको छ । एक दशकमा २५ हजार ७१९ वटा आगलागीका घटना भएका छन् । ती घटनामा ८३५ जनाको मृत्यु र २ हजार ४४३ जना घाइते भएका छन् । आगलागीबाट ३४ हजार ९५२ परिवार प्रभावित भएका छन् भने ४ हजार ७१० घर पूर्ण रूपमा नष्ट भएका छन् । थप १२ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ ।

आगलागीका कारण १० हजार ३०६ पशुचौपायासमेत मरेका छन् । यसबाट २३ अर्ब ८६ करोड ९७ लाख ४२ हजार १० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । भूकम्पपछि विपद्का कारण भएको ठूलो आर्थिक क्षति आगलागीबाट भएको देखिन्छ ।

चट्याङ पनि नेपालमा ज्यान जाने प्रमुख विपद्मध्ये एक बनेको छ । एक दशकमा चट्याङका २ हजार ६२५ घटना भएका छन् । यसबाट ७९१ जनाको मृत्यु र २ हजार ६७३ जना घाइते भएका छन् । मकवानपुर, मोरङ, उदयपुर र झापा चट्याङबाट बढी प्रभावित जिल्लाका रूपमा देखिएका छन् ।

यसैगरी १ हजार २५६ वटा हावाहुरीका घटनामा १०२ जनाको मृत्यु र १ हजार ५३९ जना घाइते भएका छन् । हावाहुरीबाट ४८ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

वन क्षेत्रमा हुने डढेलोका १ हजार ९७८ घटना दर्ता भएका छन् । डढेलोमा परी ३० जनाको मृत्यु र ५२ जना घाइते भएका छन् । ३ हजार ८२१ परिवार प्रभावित भएका छन् भने ३३९ घर पूर्ण रूपमा जलेका छन् । डढेलोबाट १२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

प्राकृतिक विपद्का अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्वले पनि ठूलो मानवीय क्षति गराएको छ । एक दशकमा यस्ता २ हजार १४९ घटना भएका छन् । ती घटनामा २८४ जनाको मृत्यु, एक जना बेपत्ता र १ हजार ४२४ जना घाइते भएका छन् । जंगली हात्तीको आक्रमणबाट मात्रै ११५ घर पूर्ण रूपमा नष्ट भएका छन् ।

यस अवधिमा नेपालले केही असाधारण विपद्का घटना पनि भोग्यो । २०७५ चैत १७ गते बारा र पर्सामा आएको शक्तिशाली चक्रवातमा २७ जनाको मृत्यु र ६१३ जना घाइते भए । नेपालमा पहिलो पटक पुष्टि भएको उक्त घटनाबाट ६६९ घर प्रभावित भएका थिए ।

२०७७ साउनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोले ३७ जनाको ज्यान लियो भने दुई जना बेपत्ता भए । त्यसैगरी २०७८ असारमा मेलम्ची र इन्द्रावती नदीमा आएको गेग्रानसहितको बाढीले ठूलो क्षति पुर्‍यायो । मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स, पुल तथा अन्य संरचना बगाउँदा अर्बौँ रुपैयाँको क्षति भयो ।

२०७८ कात्तिकमा परेको बेमौसमी वर्षाले पनि देशका विभिन्न भागमा बाढी र पहिरो निम्त्यायो । त्यस घटनामा ११८ जनाको मृत्यु र ३० जना बेपत्ता भए । धान भित्र्याउने समयमा आएको विपद्का कारण किसानले ठूलो कृषि क्षति व्यहोर्नुपर्‍यो ।

२०८१ सालमा चितवनको सिमलतालमा भएको दुर्घटना पनि विपद्को अर्को दुःखद घटना बन्यो । असार २८ गते लेदोसहितको पहिरोले दुई बस त्रिशूली नदीमा खसाल्दा ५१ यात्रु बेपत्ता तथा मृत्युको शिकार बने । तीन जनाले भने तैरिएर ज्यान जोगाएका थिए ।

त्यही वर्ष सोलुखुम्बुको थामे क्षेत्रमा हिमताल विस्फोटपछि आएको बाढीले बस्ती तथा संरचनामा ठूलो क्षति पुर्‍यायो । थामे बजारका घर, विद्यालय र स्वास्थ्य संस्थासमेत बाढीले बगायो ।

२०८१ असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरो पछिल्लो दशककै अर्को ठूलो विपद् बन्यो । देशभर भएको उक्त विपद्मा २४९ जनाको मृत्यु, १८ जना बेपत्ता र १७७ जना घाइते भए । निजी आवास, सडक, पुल, जलविद्युत् तथा कृषि क्षेत्रमा गरी ४६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणको तथ्यांक छ ।

नेपालको विपद् इतिहास भूकम्प र बाढीपहिरोमा मात्र सीमित छैन । विगतमा १९९० सालको महाभूकम्प, २०५० सालको कुलेखानी क्षेत्रको बाढीपहिरो, २०६५ सालको कोशी बाढी, २०७१ सालको जुरे पहिरोलगायतका घटनाले पनि ठूलो जनधनको क्षति गराएका थिए । २०७१ सालको जुरे पहिरोले सुनकोशी नदी थुन्दा १५६ जनाको मृत्यु भएको थियो भने २०५० सालको बाढीपहिरोमा १ हजार ३३६ जनाले ज्यान गुमाएका थिए ।

यसबीच २०७९ डोटी, २०८० बझाङ र जाजरकोटमा भएका भूकम्पले पनि भूकम्पीय जोखिम निरन्तर कायम रहेको देखाएका छन् । जाजरकोटको ६.४ म्याग्निच्युडको भूकम्पमा मात्रै १५४ जनाको मृत्यु भएको थियो ।

विपद्का घटनामा महामारीसमेत जोडिन्छ । २०७६ पुसदेखि फैलिएको कोभिड–१९ महामारीका कारण २०७९ चैतसम्म नेपालमा १२ हजार ३१ जनाको मृत्यु भएको तथ्यांक छ । महामारीले स्वास्थ्य क्षेत्रसँगै सामाजिक तथा आर्थिक गतिविधिमा समेत गम्भीर असर पारेको थियो ।

विपद्का तथ्यांकले नेपालमा विपद् व्यवस्थापन घटना भएपछि उद्धार र राहतमा सीमित राखेर पुग्ने अवस्था नरहेको देखाउँछ । भूकम्पीय जोखिम, मनसुनजन्य बाढीपहिरो, डढेलो, आगलागी तथा जलवायुजन्य जोखिम बढ्दै जाँदा पूर्वतयारी, जोखिम न्यूनीकरण, सुरक्षित पूर्वाधार निर्माण र प्रभावकारी पूर्वसूचना प्रणालीमा थप लगानी आवश्यक देखिएको छ ।

एक दशकमा ४२ हजारभन्दा बढी विपद्का घटना र १४ हजारभन्दा बढी मानवीय क्षतिले नेपालका लागि विपद् व्यवस्थापन अझै ठूलो चुनौती रहेको स्पष्ट पार्छ । विगतका घटनाबाट पाठ सिकेर जोखिम घटाउने तयारी नगर्ने हो भने आगामी दिनमा विपद्का घटना र त्यसबाट हुने क्षति अझ गम्भीर बन्न सक्ने जोखिम कायमै छ ।

तपाइको प्रतिक्रिया
बाढीपीडितको उद्धार र राहतमा सरकार युद्धस्तरमा : प्रधानमन्त्री
न्युरो कार्डियो अस्पतालको २६ औँ वार्षिकोत्सवमा म्याराथनदेखि स्वास्थ्य शिविरसम्म
न्युरो कार्डियो अस्पतालको २६ औँ वार्षिकोत्सवमा म्याराथनदेखि स्वास्थ्य शिविरसम्म
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै
विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक
कुन जलविद्युत् आयोजनामा कति सम्पर्कविहीन ?
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×