बाढीपीडितको उद्धार र राहतमा सरकार युद्धस्तरमा : प्रधानमन्त्री

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार २१:१७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले तीव्रता दिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बीच राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरिएको बताएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। उद्धार तथा राहतका लागि ३९४ उडान भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिएका छन्।

Advertisement

विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा खोज तथा उद्धार गरिरहेको छ। चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोजी गरे पनि हालसम्म मानिस फेला नपरेको प्रधानमन्त्रीले बताएका छन्।

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा पनि उद्धार प्रयास जारी छ। नेपाली सेनाका इन्जिनियरले विस्फोट गराएर सुरुङ खोल्ने काम गरिरहेका छन्। घटनास्थलमा तालिमप्राप्त कुकुरसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ९० जना विशेषज्ञको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सुरुङको मुख्य भागमा दुई फिट गुणा तीन फिटको प्वाल बनाएर भित्र सम्पर्क गर्ने प्रयास गरे पनि कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण, विस्फोट र प्वाल फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको छ।

माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र चिनियाँ विशेषज्ञ टोलीको समन्वयमा उद्धार कार्य भइरहेको छ। रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भारतीय टोलीले नेपाली सेनासँगको समन्वयमा खोजी तथा उद्धार गरिरहेको छ। लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि भारतीय टोलीले पम्प र एस्काभेटर प्रयोग गरी काम थालेको छ। मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियाली विशेषज्ञ टोलीले हवाई निरीक्षण गरी उद्धार कार्य सुरु गरेको प्रधानमन्त्रीले बताएका छन्।

बाढीबाट घाइते २६७ जनालाई उद्धार गरी स्थानीयसहित काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंँबाट चिकित्सकसहितको टोली परिचालन गरिएको छ भने अवरुद्ध स्वास्थ्य संस्थाको सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको छ।

प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको शाहले जानकारी दिएका छन्। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ।

राहत वितरणका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

यसैबीच, बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत जुट्न थालेको छ। एसियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर अनुदान र १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर तथा अस्ट्रेलिया सरकारबाट १० लाख अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको प्रधानमन्त्रीले बताएका छन्। स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्र संघमार्फत खर्च हुने गरी १० लाख स्विस फ्र्याङ्क प्राप्त भएको छ।

भारतबाट चार चरणमा गरी ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले २३० फिट लामो एक लेनको मोडुलर स्टिल पुल पठाएको छ भने थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। चीनसँग ३० वटा बेलीब्रिजका लागि अनुरोध गरिएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आउँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ। बाढीअघि नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकामा क्रमशः ३८ र २७ वटा टावर अवरुद्ध भएका थिए। हाल नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।

मुख्य सडक क्षतिग्रस्त भएपछि वैकल्पिक सडकमार्फत प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको भए पनि भोटेकोशीमा पानीको सतह बढेर पहिरो जाँदा वैकल्पिक सडकमा समेत असर परेको प्रधानमन्त्रीले बताएका छन्। कृष्णभीर क्षेत्रमा सडक कटान हुँदा यातायात अवरुद्ध भएको र सडक तत्काल सञ्चालनका लागि काम भइरहेको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्रीका अनुसार बाढीमा परी मृत्यु भएका ७८१ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनबमोजिम व्यवस्थापन गर्ने काम भइरहेको छ।

पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डिएनएलगायत पहिचानमा सहयोग गर्ने आधार सुरक्षित राखेर व्यवस्थापन गरिने उनले बताएका छन्। प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा सामूहिक प्रयासबाट संकट सामना गर्न सकिने भन्दै प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्‍याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया
बाढीपीडितको उद्धार र राहतमा सरकार युद्धस्तरमा : प्रधानमन्त्री
न्युरो कार्डियो अस्पतालको २६ औँ वार्षिकोत्सवमा म्याराथनदेखि स्वास्थ्य शिविरसम्म
न्युरो कार्डियो अस्पतालको २६ औँ वार्षिकोत्सवमा म्याराथनदेखि स्वास्थ्य शिविरसम्म
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै
विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक
कुन जलविद्युत् आयोजनामा कति सम्पर्कविहीन ?
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×